कारोबार संवाददाता
बुधवार, फाल्गुन १४, २०७६
334

नेतृत्वदायी भूमिकामा जुनियर र युवा हाम्रो प्रतिबद्धता भन्ने नारासहित गोरखा सदरमुकाममा आयोजित दुई दिने ४०औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी समापन भएको छ । औपचारिक कार्यक्रम पश्चात देशका विभिन्न स्थानबाट आएका युवाले आन्तरिक पर्यटनलाई समेत अभिवृद्धि गर्ने अभिप्रायःले लखन थापा पार्कलगायत गोरखाका विभिन्न ऐतिहासिक स्थानमा भ्रमण गरेका छन् । नेरेसो गोरखा जिल्ला शाखा र स्थानीय महेन्द्र ज्योति माविको आतिथ्यमा दुई दिनसम्म सञ्चालित सो गोष्ठीमा ५९ जिल्लाका १९५ युवाको सहभागिता थियो ।
जुनियर तथा युवा रेडक्रसको संगठनात्मक विकासलाई थप प्रभावकारी बनाउन समयमै सर्कल गठन तथा पुनर्गठन गरी वर्षैभरि विभिन्न कार्यक्रम सञ्चालन गर्ने र ती गतिविधि सञ्चालन गर्ने क्रममा स्थानीयस्तरमै स्रोत संकलन तथा परिचालनमा विशेष जोड दिनेलगायतका महत्वपूर्ण प्रतिबद्धता र सहमतिसहित १३ बुँदे गोरखा घोषणपत्र जारी गरिएको छ । सो घोषणा पत्रमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघबाट प्रवद्र्धित ‘केन्द्रमा युवा नीति’ तथा नेपाल रेडक्रस सोसाइटीको ‘युवा संलग्न नीति’ लाई जोड दिँदै विश्वव्यापी रूपमा रहेका विभिन्न प्राकृतिक, सामाजिक र मानवीय मुद्दाका गतिविधि नेपालमा सञ्चालन गर्ने गराउने उल्लेख छ ।
देशभरिका जुनियर तथा युवा सर्कललाई बिभिन्न प्राकृतिक र मानवीय मुद्दामा बहस पैरवी र क्षमता अभिवृद्धि गरी सबलीकरण अभियान सञ्चालन गर्न युवाहरूले प्रतिबद्धता जाहेर गरेका नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । सडक सुरक्षा र प्राथमिक उपचार, विपद ब्यवस्थापन र कृत्रिम घटना अभ्यास, नोबेल कोरोना भाइरस र सोको प्रभावबाट बच्ने उपाय, साइबर बुलिङ, रक्तदानमा युवाको भूमिकाजस्ता बिषयमा भएको छलफल उत्कृष्ट रहेको र ती क्षेत्रमा युवाको सचेतना अभियान बढाउन युवाले महत्वपूर्ण भूमिका खेल्ने जुनियर विभाग निर्देशक सुदर्शन अधिकारीको भनाइ छ ।