रासस
बुधवार, फाल्गुन १४, २०७६
385

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरुपमा बंगुरपालन व्यवसाय शुरु गरेका छन् । आधुनिक खोरको निर्माण गरी चाँडै हुर्कने उन्नत जातका बंगुरपालनमा उनी लागेका हुन्। बंगुरपालनका लागि रु. सात लाख बढी रकम उनले खर्चेका छन् ।
६ महिनाअघि खरिद गरेर ल्याइएका २५ वटा बंगुरका पाठा हुर्कंदै गएका छन् । खोरमा राखिएका पाठा वयस्क हुँदै गएकाले बच्चा जन्माउने अवस्थामा पुगेका छन् । खोरमा एम्पासायर, डयुरेक, ल्याण्डरस जातका बंगुर पालिएका छन् । पशु प्राविधिकको सल्लाहमा बंगुरपालन गरेका वडाध्यक्ष ऐरले खोर आधुनिक तरिकाले निर्माण गरेका छन् ।
खोर निर्माणमा मात्रै रु. दुई लाख बढी रकम लगानी गरिएको वडाध्यक्ष ऐरले बताए । बंगुरको खोर सफा गर्नेदेखि चारोको व्यवस्थाका लागि उनी आफैं खटिन्छन् । कार्यालय समयमा जनताको काममा व्यस्त हुने वडाध्यक्षले बिहानीको समय र साँझको समय बंगुरको हेरचाह गर्नमै खर्चिदै आएका छन् ।
“वडा कार्यालय नजिकै घर भएकाले सेवाग्राही नभएका बेला बंगुरको अवस्था बुझ्न र चारो खुवाउनका लागि खोरमा पुग्ने गरेको छु,” उनले भने, “दैनिक बंगुरले ३५ किलो बढी चारो खाने गरेका छन् । चारो खुवाउनेदेखि खोरमा बंगुरले गर्ने फोहर सफा गर्न पनि आफैँ खटिने गरेको छु ।”
काम विशेषले बाह्य क्षेत्रमा जानुपर्ने भए वडाध्यक्षले कामदारलाई त्यस कार्यका लागि खटाउने गरेका छन् । बंगुरको खोरसँगै जोडेर माछापालनका लागि पोखरीसमेत निर्माण गरिएको छ । बंगुरले गरेको फोहर सिधै पोखरीमा खस्ने गरेको छ । पोखरीमा रहेका माछाले सो फोहर चारोका रुपमा खाने गर्दछन् । बंगुरसँगै पोखरीमा माछापालन गरिएकाले माछाबाट समेत आम्दानी हुने गरेको छ ।
पहिला माछापालनका लागि पाँच कठ्ठा जग्गामा पोखरी मात्रै निर्माण गरिएको थियो । वडाध्यक्ष ऐरले भने, “माछापालनबाट वार्षिक रुपमा छ क्विन्टल बढी माछा उत्पादन हुँदै आएको थियो । पशु विज्ञको सल्लाहमा पोखरीसँगै बंगुरपालन गरिएपछि माछाका लागि छुट्टै चारोको व्यवस्था नगर्नुपर्ने सुझाव पाइएपछि बंगुरपालनलाई सँगसँगै लगिए हो ।”
विगतमा माछाको उत्पादन मात्रै वार्षिकरुपमा झण्डै रु. दुई लाख जति हुने गरेको थियो । बंगुरपालन संगै पोखरीमा माछाको भुरा मात्रै यस बर्ष दुई हजार बढी छाडिएका छन् । माछाको उत्पादन विगतको तुलनामा दोब्बर हुने उनको भनाइ छ । कमन, रोहु, विगेट, नैनी, ग्रासकार्पलगायतका माछा पोखरीमा पालिएका छन् ।
“बंगुरपालनबाट छोटो अवधिमै राम्रै आम्दानी गर्न सकिन्छ । यसले पोखरीमा पालिएका माछाको उत्पादन पनि बढ्ने भएको छ,” उनले भने । वडाध्यक्ष ऐरको आफ्नै स्वामित्वको खाद्य उद्योगसमेत भएकाले माछा र बंगुरका लागि चारोको व्यवस्था गर्न अन्यत्र जानुपर्ने अवस्थासमेत छैन । रु. दुई करोडको लागतमा सञ्चालन गरिएको उनको खाद्य उद्योगमा वार्षिकरुपमा १० हजार बोरा धानबाट चामल उत्पादन हुने गरेको छ । चामल मात्रै रु. ६५ लाख बढीको निर्यात हुँदै आएको उनले बताए ।
उत्पादित चामल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निर्यात हुँदै आएको छ । चामल उत्पादन गर्दा निष्कने, खुदी, ब्रान, भुसलगायत बंगुर र माछाको चारोका रुपमा प्रयोग हुने गरेको छ । खाद्य उद्योगमा मात्रै उनले १२ जनालाई रोजगारी दिएका छन् । खाद्य उद्योग वडाध्यक्ष हुनुभन्दा अगाडिदेखि नै उनले सञ्चालन गर्दै आएका हुन् । आर्थिकरुपमा सवल बन्नका लागि आयआर्जनका कार्यमा संलग्न हुँदै आएको उनले बताए । खाद्य उद्योगको कमाइको केही रकम माछापालन र बंगुरपालनका लागि लगानी गरिएको उनको भनाइ छ ।
“राजनीति समाज सेवाको पेशा भएकाले जनताको सेवामा खटिनुपर्छ,” उनले भने, “त्यसका लागि आर्थिक अवस्था मजबुत नभए हुँदैन । त्यसलाई पूर्ति गर्नका लागि बंगुर, माछापालन र खाद्य उद्योगमा संलग्न भएको हुँ ।” राजनीति विशुद्ध समाज सेवाको पेशा भए पनि केही व्यक्तिले कमाइखाने साधनका रुपमा प्रयोग गर्दा बदनामसमेत भएका छन् ।
आर्थिक अवस्था सबल नहुँदा नै राजनीतिमा आएकाले नै बदमासी गर्दा विकासमा अवरोध हुने गरेको छ । ती कार्य न्यूनीकरण गर्नका लागि राजनीतिमा संलग्न भएका र हुन चाहनेले आर्थिक अवस्थालाई मजबुत बनाउन आयआर्जनका कार्यमा संलग्न हुनु जरुरी छ । उनले भने, “आयआर्जनका कार्यमा संलग्न भए पैसाका लागि अरुसँग हात थाप्नु पर्दैन । बदमासी गरेर धन कमाउनु पनि पर्दैन । जसले गर्दा समाजलाई सदाचारको पदमा डो-याउन सकिन्छ । बेरोजगारले रोजगार पनि पाउँछन् । समाज आफैं समृद्धितर्फ लम्किन्छ ।”
समृद्ध समाज निर्माण गर्नका लागि मनमा दृढ सङ्कल्प लिएर आजैदेखि आयआर्जनका कार्यमा लाग्न सबै राजनीतिकर्मीलाई उनको सुझाव छ । उनले भने, “भ्रष्टाचार न्यूनीकरणमा यस कार्यले टेवा पु-याउँछ ।” यसैगरी वडाध्यक्ष ऐरले हाँससमेत पालेका छन् ।

 

राजेन्द्रप्रसाद पनेरु