कारोबार संवाददाता
बुधवार, फाल्गुन १४, २०७६
282

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ्गमा स्मार्ट कृषि कार्यक्रमको सुरु भएको छ । प्रदेश नं. ५, भूमि कृषि तथा सहकारी मन्त्रालय व्यवस्था मन्त्रालयले गत आर्थिक वर्षबाट सञ्चालन गरेको स्मार्ट कृषि गाउँको कार्यक्रम अगाडी बढेको स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका संयोजक पुष्कर पौडेलले बताए ।
कृषि ज्ञान केन्द्रमा फागुन २ गते सम्झौता गरी यस वर्षको कार्यक्रम अगाडी बढाइएको हो । कृषकहरुको उत्पादनमा आधारित कृषि तथा पशुपालनका सामग्री वितरण गर्ने गरी बजेट विनियोजन भएको छ । तरकारी संकलन केन्द्र, दुध संकलन केन्द्र, स्मार्ट कृषि गाउँको कार्यालय राख्ने गरी ११ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएको संयोजक पौडेलले बताए ।

प्रदेश सरकारको लागतमा ३७ लाख ५० हजार, स्थानीय तह, समूह वा सहकारीको लागत ११ लाख ८ हजार गरी ४८ लाख ७५ हजार ५ सय रुपैयाँ बजेट विनियोजन भएको छ । कृषि क्षेत्रलाई यान्त्रीकरणतर्फ केन्द्रीत गर्दै परम्परागत पेशालाई अन्त्य गर्दै स्थायी टनेल निमार्ण ५ वटा, अस्थायी टनेल ९० वटा, हाते ट्याक्टर ५ वटा, सिँचाइका लागि गुराँसे कुलो निमार्णलगायतका लागि बजेट विनियोजन गरेको समितिका सचिव जानका पौडेलले बताइन् ।
गाउँ भेलामा पाणिनी गाउँकार्यपालिका सदस्य तारा पौडेलले स्मार्ट कृषि गाउँ कार्यक्रम सफल पार्नका लागि जनप्रतिनिधिको तर्फबाट सहयोग गर्ने बताइन् ।