कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
428

म्याग्दी-पेस्की फस्र्योट विषयमा धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्र सुनार र पूर्वकर्मचारी नायब सुब्बा प्रेम बानियाँबीच विवाद चुलिँदै गएको छ । प्रशासकीय अधिकृत सुनारसँग कुरा नमिलेर विवाद भएपछि राजीनामा दिएका तत्कालीन नायब सुब्बा बानियाँले बेनीमा पत्रकार भेटघाट गरेर अधिकृत सुनारविरुद्ध १५ बुंदे आरोप सार्वजनिक गरेका छन् ।
अधिकृतले कर्मचारीबीच विभेद गरेको, कार्यालयमा काम गर्ने वातावरण नबनाएको, राजीनामा दिन बाध्य पारेको, कार्यालयको कामले फिल्डमा खटाउने तर सुविधा माग गर्दा ‘घुस’ मागेको आरोप सार्वजनिक गरेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खरिद गरिएका सामान गुणस्तरीय, विकास आयोजना अपारदर्शी रूपमा सञ्चालन भएका, तालिम, बैठक सञ्चालन गर्दा होटलका फर्जी बिल भर्पाइ बनाएर बढी खर्च देखाई अनियमितता गरेको, सार्वजनिक खरिद ऐनको पालना नगरिएको, सामाजिक र सार्वजनिक परीक्षण नभएको आरोप लगाएका थिए ।
गत आव ०७५-७६ मा धवलागिरि गाउँपालिकाको ७ वटै वडामा सहकारी शिक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न चार लाख ५० हजार रुपैयाँ विनियोजन भएको थियो ।
सो कार्यक्रम कार्यान्वयन गर्न सुब्बा बानियाँले २०७५ चैतमा चार लाख रुपैयाँ पेस्की लिनुभएको थियो । बानियाँका अनुसार चैतको १५ गतेबाट सुरु भएको कार्यक्रम गुर्जामा जेठमा गरेर सकिएको थियो । एक दिनका दरले सञ्चालन भएको कार्यक्रममा ४० जनाका दरले सहभागी गराउने लक्ष्य थियो । वडामा रहेका सहकारी संस्थाका पदाधिकारी, अगुवा, शिक्षक र राजनीतिकर्मी प्रशिक्षणमा सहभागी भएका थिए । सहभागीलाई खाना खाजा खर्चवापत चार सय रुपैयाँका दरले दिइएको थियो । कार्यक्रम सकिएपछि बानियाँले जेठको दोस्रो साता पेस्की फस्र्योटका लागि आवश्यक कागजात, बिल भर्पाइसहित निवेदन लिएर अधिकृत कहाँ लगेको बताए । हाकिम सरसँग पेस्की फस्र्योट गर्न जाँदा जोबाट लगेको हो उसैबाट फस्र्योट गर भनेर थर्काएको बानियाँले बताए । सरुवा भइसकेको हाकिम खोज्न म कहाँ जाने ? मलाई पनि उहाँको कार्यशैली र ब्यवहार ठीक लागेन । काम गर्ने वातावरण नभएकाले जेठ १७ गते राजीनामा दिएर हिँडेको उनले बताए ।
बानियाँले प्रशासकीय अधिकृतले कार्यक्रमवापत मागेको कमिसन (घुस) दिन नसकेपछि पेस्की फस्र्योट गर्न नमानेको आरोप लगाएका छन् । अपारदर्शी गतिविधिप्रति चित्त नबुझेपछि फसिन्छ भनेर राजीनामा दिएको जानकारी दिए । गाउँपालिकाले पुस अन्तिम साता बानियाँलाई राजीनामा दिएकै दिन स्वीकृत भएको जानकारी सहितको पत्र पठाएको छ ।
बानियाँ र अधिकृत सुनारको विवादका कारण सहकारीसम्बन्धी तालिम सञ्चालनका लागि दिइएको चार लाख रुपैयाँ बानियाको नाममा बेरुजु देखिएको छ । बानियाँले लगाएको आरोपको प्रशासकीय अधिकृत सुनारले अस्वीकार र खण्डन गर्दै व्यक्तिगत पूर्वाग्रह साधेर आफूलाई दुःख दिन तथा गाउँपालिकालाई बदनाम गराउन खोजेको प्रतिक्रिया दिएका थिए । विधि र प्रक्रिया र नियम संगत काम गरिएको बताउँदै अधिकृत सुनारले बानियाँले आफ्नो चरित्र हत्या गरेको दाबी गरेका छन् ।

 

धिरन खत्री