कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
280

काभ्रे-पाँचखाल नगरपालिकाको समन्वयमा वडा–४ ले ३२ जना कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । आइतबार नगर परिषरमा नगरप्रमुख महेश खरेल, वडा नं ४ का अध्यक्ष सुन्दर तामाङ, कृषि शाखा प्रमुख ईश्वर अधिकारीलगायतले पाँचखाल नगरपालिका वडा नं ४ का किसानहरुलाई हाते ट्याक्टर वितरण गरे । ट्याक्टर पाउने अधिकांश दनुवार समुदायका छन् ।
वितरण कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले कृषिलाई आधुनिक तरिकामा लैजान कृषि उपकरणको रुपमा हाते ट्याक्टर वितरण गरिएको जानकारी दिए । कृषकले खेती गर्न गोरुको अभाव हुन थालेपछि कृषिलाई प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरिएको उनले बताए । उनका अनुसार नगरभरी हाते ट्याक्टर वितरण गरिने छ ।

कार्यक्रममा पाँचखाल नगरपालिका–४ का अध्यक्ष सुन्दर तामाङले ४० हजार रुपैयाँ पर्ने ट्याक्टरलाई ५० प्रतिशत अनुदानमा कृषकलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले ट्याक्टर पाएपछि आफूले मात्र प्रयोग गर्ने भन्दा पनि आम्दानी नभएका, असहायहरुलाई निःशुल्क जोत्न अनुरोध गरे ।
कार्यक्रममा नगरका कृषि शाखा प्रमुख ईश्वर अधिकारीले पाँचखाल ४ मा आश्रित समुदायमा रहेका दनुवारहरुलाई प्राथमिकतामा राखेर ट्याक्टर वितरण गरिएको जानकारी दिए । नगरको वडा नं ६, ८, ९ मा यसअघिनै हाते ट्याक्टर वितरण भएसकेका छन् ।