कारोबार संवाददाता
मंगलबार, फाल्गुन १३, २०७६
228

गुल्मी-नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी तथा बगैँचा व्यवस्थापनसम्बन्धी आवासीय तालीम सुरु भएको छ । कृषिमा व्यवसायिकीकरणका लागि कफीखेतीलाई विस्तार गरी उनीहरूको आम्दानी वृद्धि गर्दै जीवनस्तर माथि उकास्ने उद्देश्यसाथ उक्त तालिमको आयोजना गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका संयोजक कृष्णबहादुर थापाले बताए ।
सातदिने आवासीय तालीमको उद्घाटन गर्दै प्रदेश ५ का प्रदेशसभा सदस्य एवं विशेषाधिकार समिति सभापति कमलराज श्रेष्ठले नेपालमा कफीखेतीको प्रचुर सम्भावना भएको र यसको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा दिनानुदिन बढ्दै गएको बताए । उनले कफीलाई निर्वाहमुखी मात्र हैन यसलाई व्यवसायिमुखी बनाउँदै लैजान सकेमा यसले देशको अर्थतन्त्रलाई बलियो आधार बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष निलकण्ठ गौतमले पछिल्लो समयमा किसान कफीखेती उत्पादनमा लागे पनि उनीहरू अझै व्यवसायतर्फ उन्मुख हुन नसकेकोले स्थानीय सरकारले कफी उत्पादक किसानका लागि अनुदानको व्यवस्था गरेर कफीखेतीमा लाग्न प्रोत्साहित गरेको जानकारी दिए । तालिममा कफी विशषेज्ञले कफीखेतीलाई कसरी व्यवस्थित रूपमा अघि बढाउने, नर्सरी स्थापना कसरी गर्ने, बगैँचा निर्माण, बीउ र माउबोट छनौट, बीउ सङ्कलन, ब्याड तयारी कफीमा लाग्ने रोग किराको चिनारी, कफी सङ्कलन, प्रशोधन र बजारीकरणलगायतका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक रूपमा तालीम उपलव्ध गराइने बताइएको छ ।
तालिममा सहभागिताका लागि बाह्य अनुसन्धान महाशाखा खुमलटारले गोरखापत्र र परिषद्को वेबसाइट मार्फत आवेदन माग गरी प्राप्त आवेदनमध्येबाट मूल्यांकनका आधारमा १४ जिल्लाका २५ कफी कृषकलाई छनौट गरी तालीममा सहभागी गराइएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रविधिक अधिकृत शम्शेर बस्नेतले जानकारी दिए ।