अमरराज आचार्य
सोमवार, फाल्गुन १२, २०७६
331

दाङ-प्रदेश नं ५ सरकारले २ वर्षको अवधिमा गरेका कामका बारेमा जानकारी दिने उद्देश्यले एक्स्पो सञ्चालन गरेको छ ।
एक्स्पोको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन् । प्रदेश एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले एक्स्पो प्रदेशका हरेक स्थानीय तहले एक अर्काको विविधतालाई नजिकबाट नियाल्ने र त्यसको सही मूल्यांकन गर्ने प्रमुख आधार भएको बताए ।

मुख्यमन्त्री पोख्रेलले प्रदेश नं. ५ मिनी नेपालको एक विम्ब भएको समेत दाबी गरे । अरू प्रदेशभन्दा प्रदेश ५ कानुन, विकास निर्माण तथा समृद्धिका थुप्रै आधार तयार गर्न सफल भएको मुख्यमन्त्री पोेख्रेलले दाबी गरे । उनले स्थायी राजधानी र नामाकरणको अवस्थाले नागरिकमा ३ वटा आञ्चलिक मनोविज्ञान स्थापना हुन गएकोमा यसलाई चिर्न एक्स्पो कोसेढुंगा हुने विश्वास व्यक्त गरे । “प्रदेशको विकासका लागि अहिले लुम्बिनी, भेरी र राप्तीको ३ वटा आञ्चलिक मनोविज्ञानलाई चिरेर एउटै साझा मनोविज्ञान बनाउन आवश्यक छ,” मुख्यमन्त्री पोख्रेलले भने, “क्षेत्रीय मानसिकताका आधारमा अघि बढ्न खोजे विकास हुन सक्दैन ।” प्रदेश सरकारले बितेको २ वर्षमा थुप्रै काम गरेको समेत उनको दाबी थियो ।
मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले अहिलेसम्म ४८ वटा कानुन निर्माणदेखि प्रशासनिक पूर्वाधारको विकासमा अग्रणी स्थानमा रहेको भन्दै यस क्षेत्रको विकास र समृद्धिमा अघि रहेको बताए । उनले प्रदेश एक्स्पोमार्फत प्रदेश सरकार र स्थानीय तहले गरेका काम नागरिकले सहज रूपमा थाहा पाउने आधार रहेको बताए । कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले एक्स्पोले प्रदेशबासीलाई जोडन सफल भएको बताए ।

दाङको बेलझुण्डीको रंगशालामा सुरु भएको प्रदेश एक्स्पोले प्रदेशको पहिचान र विविधता एउटै थलोमा झल्काएको छ । एक्स्पोमा प्रदेशका १२ वटै जिल्लामा उत्पादित वस्तु, विज्ञान प्रविधि, सीप साधन र कला सांस्कृतिक पक्षहरू झल्किने प्रस्तुति तथा प्रदर्शनी राखिएको छ । प्रदेश सरकारले आफ्नो स्थापना दिवसको अवसरमा पहिलो पटक प्रदेश नं ५ सरकारले आयोजना गरेको एक्स्पोमा प्रदेशका १२ जिल्लाका कृषि, उद्योग, लघुउद्यम, पर्यटन र लोककला, शिक्षा, विज्ञान प्रविधिलगायत प्रदर्शनी तथा जानकारी दिने खालका स्टल छन् । प्रदेशको विविधता, उत्पादन, पहिचान, संस्कृति, लोक–कला, नाच, झाँकी, स्थानीय खाना तथा परिकार प्रदर्शनीमा राखिएका छन् भने निजी क्षेत्र, विद्यालय–कलेज एवं समुदायबाट विविध आविस्कार एवं उत्पादन पनि प्रदर्शनीमा राखिएका छन् । एक्स्पोमा निजी क्षेत्र, सरकारी, प्रदेश सरकारका सातवटा मन्त्रालय, प्रदेशका स्थानीय तहका गरी सरकारी ५० र निजी क्षेत्रका तीन सय बढी स्टल छन् ।
प्रदेश सरकारका गतिविधि बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा प्रदेशका सात वटा मन्त्रालयले पनि स्टल राखेका छन् । प्रदेश सरकारले स्थापनाकाल देखि हाल सम्मका गतिविधि, उपलब्धि बारे जानकारी दिने उद्देश्यले सातवटै मन्त्रालयका छुट्टाछुट्टै स्टल राखिएका छन् । एक्स्पोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई वर्षको अवधिमा गरेका कार्यको डिजिटल फ्लेक्स बोर्ड तथा अन्य माध्यमबाट प्रस्तुतिसहित डकुमेन्ट्री तथा भिडियो प्रदर्शनका लागि राखिएको छ । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपत अवस्थामा गरिने उद्धार कार्यको अभ्यास, राहत व्यवस्थापन तथा वितरण प्रणालीको प्रस्तुति गर्ने गरी प्रदर्शनीका लागि स्टल राखेको छ ।
भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले विकास निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचनासम्बन्धी प्रदर्शनी, भवन निर्माण प्रविधि, खानेपानी, सिञ्चाइ, नवीकरणीय ऊर्जासम्बन्धी प्रदर्शनी र झोलुंगे पुलको डेमोन्स्ट्रेसन राखेको छ । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले स्थानीय प्रविधि र उत्पादनहरूको प्रदर्शन, प्रविधिमा आधारित कार्यहरूको प्रस्तुति, आर्ट एण्ड क्राफ्ट प्रदर्शनी, पेन्टिङलगायत प्रदर्शनीका लागि राखेको छ भने सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्ना स्टलहरू राखेका छन् । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका प्रमुख कृषि प्रविधि तथा उत्पादनहरुको प्रदर्शनी, भूमि व्यवस्था तथा सहकारीसम्बन्धी प्रदर्शनीका लागि राखेको छ । त्यस्तै प्रदेश योजना आयोगले राखेको स्टलबाट दुई वर्षका गतिविधि, प्रगति तथा सेवा प्रवाहबारे जानकारी गराइने छ । एक्स्पो आज (सोमबार) सम्म सञ्चालन हुनेछ ।