अमरराज आचार्य
शुक्रवार, फाल्गुन ९, २०७६
172

दाङ-माओवादी सशस्त्र द्वन्द्वका क्रममा बन्दुक र बारुद्धसँग खेलेका जेपी चौधरीको दैनिकी अहिले परिवर्तन भएको छ । द्वन्द्वका क्रममा बन्दुक र बारुद्धसँग खेलेका उनी देवीदेवता मूर्तिसमेत भत्काएका थिए । तर, केही वर्षयता भने उनी आफैं विभिन्न देवीदेवताहरूका मूर्ति बनाउन थालेका छन् । शान्ति प्रक्रियासँगै सेनाबाट वाईसीयल हुँदै सामान्य नागरिकको जीवनयापन गर्न थालेका चौधरीले केही बर्ष घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा बंगुरपालन गरेका थिए । तर, बंगुरपालनमा राम्रो आम्दानी गर्न नसकेपछि उनी आफन्तको सहयोगमा मूर्तिकलामा लागेका छन् । दश वर्षीय सशस्त्र द्वन्द्वका क्रममा ८ वर्ष माओवादीको जनमुक्ति सेना भएर लडेका जेपी चौधरी विगत ६ वर्षदेखि भगवानका मूर्तिहरू बनाउँदै आएका छन् ।
घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा ठूलो ढुङ्गा कुदेर भगवान शिवको मूर्ति बनाउन लागेका चौधरीले धारपानीमा ढुङ्गा कुदेर एक सय आठ शिवलिंग, एक सय आठ गौमुखी धारा, शंक, साढे, ठूलो शिवलिंगलगायतका विभिन्न मूर्तिहरूसमेत निर्माण गरेका छन् । त्यस्तै उनले गणेश, शिव–पावर्ती, सरस्वतीलगायत विभिन्न जनावर, साहित्यकार, सहिदलगायतको समेत मूर्ति बनाएर बेच्ने गरेको बताउँछन् । “धारापानी मन्दिरसँगै घरमा पनि मैले मूर्ति बनाएर बेच्ने गर्दै आएको छु,” उनले भने, “धारापानीमा अधिकांश मूर्तिहरू ढुङ्गा कुदेर बनाएको छु, घरमा बनाउँदा माटोसँगै बालुवा, छड, सिमेन्टलगायतका सामग्रीबाट बनाउने गर्छु ।” उनले मन्दिरसँगै जिल्लाका विभिन्न विद्यालयहरूका लागि समेत सरस्वतीको मूर्ति बनाएको बताए । मूर्ति बनाउने काम सानैदेखि रुचि भए पनि गरिबीका कारण व्यावसायिक रूपमा गर्न सकेका थिएनन् ।

माओवादी सेनामा जानुभन्दा पहिले उनी नेपाल प्रहरीमा भर्ना भएका थिए । करिब डेढ वर्ष नेपाल प्रहरीमा रहेर काम गरेका चौधरीले कम तलब भएको कारण छोडेको बताउँछन् । “माओवादी आन्दोलन बढ्दै गएको थियो, त्यसैमा तलव समेत असाध्यै कम थियो,” उनले भने, “जागिर खाएर कमएको पैसाले श्रीमतीलाई पाल्नसमेत नसकिने अवस्था थियो, त्यही भएर पुलिस जागिर छोडेका थिए ।”
पुलिस जागिर छोडेर घरमा बसेका चौधरी करिब ६ महिनापछि माओवादीको जनमुक्ति सेनामा पुगेका थिए । माओवादी सेनामा रहँदा रुकुमको खारा, अर्घाखाँचीको बतासेडाँडालगायतका ठाउँहरूमा लडेको अहिले उनलाई ताजै लाग्ने गरेको छ । माओवादीमा लागेपछि गरिबी हटाउने, स्वदेश मै रोजगारीको अवसर दिनेलगायतका आश्वासन पाएपछि माओवादीमा लागेर ८ वर्ष बिताएका चौधरी शान्ति प्रक्रिया पछि भने पुनः बेरोजगार बन्न पुगे । “माओवादी आन्दोनका क्रममा त देश र जनताको परिवर्तनका लागि भनेर लडियो, घर परिवारको चिन्ता भएन,” उनले भने, “तर शान्ति प्रक्रियापछि अवस्था फेरियो, सेनाबाट संगठन निर्माणका लागि बाहिरपछि केही समय पार्टीले खर्च दिने गरेको थियो, तर पहिलो संविधानसभाको निर्वाचनपछि त्यो पनि दिन छोड्यो ।”
पार्टीले सहयोग गर्न छाडेपछि आर्थिक समस्यामा परेका चौधरीले दैनिक गुजारा चलाउनका लागि मूर्तिकलातर्फ लागेका हुन् । “सानोमा स्कुल पढ्दा राम्रो राम्रो मूर्तिहरू बनाउने गर्दथे, विद्यालयका र साथीहरूले हौ सल्लासमेत दिने गरेका थिए,” उनले भने, “त्यो बेला काम गर्न सकिएन, अहिले परिवार पाल्ने दायित्व थपिए पछि गर्ने प-यो । विगत ६ वर्षदेखि मूर्तिकलामा क्रियाशील चौधरीले यही पेसाका माध्यमबाट जीविको पार्जन गर्दै आएका छन । माटो, बालुवा, छड, सिमेन्ट बाट भन्दा ढुङ्गाबाट मूर्ति बनाउने गाह्रो र समयसमेत धेरै लाग्ने उनी बताउँछन् । त्यसमा पनि पछिल्लो समय मूर्ति बनाउनका ढुङ्गासमेत पाउन समस्या रहेको उनी बताउँछन् ।
ढुङ्गा कुदेर भागवानका मूर्ति बनाउन अब्बल चौधरी माटो, सिमेन्ट, बालुवा लगायतको प्रयोग गरेर विभिन्न देवीदेवताका मूर्तिसँगै सहिद, साहित्यकार जनावर लगायतका मूर्तिसमेत बनाउने गरेको बताएउछन् । मूर्तिकला पेसामा नाम र दाम दुवै मिल्ने गरेकाले आफु सन्तुष्ट रहेको उनी बताउँछन् । “मूर्तिकला पेसामा नाम र दाम दुवै मिल्छ, त्यसैले म कामप्रति सन्तुष्ट रहेको छु,” दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर धाम धारपानीमा शिवको मूर्ति कुट्दै गरेका चौधरीले भने । सानोमा रहरै रहरमा मूर्ति बनाउने गरेको बताउने चौधरीको अहिले जीवन जीउने आधार मूर्तिकला बनेको छ । मूर्तिकलामा मेहनत र श्रमअनुसारको मूल्यसँगै नाम समेत रहने भएकाले आपूm सन्तुष्ट रहेको उनी बताउँछन् ।
उनले पछिल्लो समय विभिन्न मन्दिर, पार्कहरूका लागि भगवानका मूर्तिहरूसँगै हात्ति,जरायो, घोडा, मृग लगायतका जनावरहरूको समेत मूर्ति बनाउने गरेका बताए । यसरी निर्माण गरेका मूर्तिहरू चार लाख सम्म बिक्री हुने गरेको उनी बताउँछन । मूर्तिहरू जिल्लाका विभिन्न स्थानसँगै रोल्पा, प्युठान, सल्यान, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाहरूबाट समेत अडर आउने गरेको उनले बताए ।