मनिषा चम्लागाईँ
शुक्रवार, फाल्गुन ९, २०७६
175

झापा गाउँपालिका–१ की फुलकुमारी मराण्डीले आफ्नो पक्की घर होला भन्ने सोचेकी थिइनन् । मराण्डीको परिवार हरेक वर्ष बर्खा सुरु भएपछि रातभर जागा बस्थ्यो । पानी पर्न थालेपछि परिवार भेला भएर एकैठाउँमा बस्नुको विकल्प उनको परिवारमा थिएन । रातभर जागा बसेर पानी नपरेको बेला केही क्षण सुतेर निन्द्रा पु-याउनु पर्ने बाध्यता मराण्डीको परिवारमा थियो ।
सोही स्थानका गवरी मर्मुको परिवार पनि आकासबाट पानी पर्न थालेपछि सुत्न पाउँदैन थियो । खाने अन्न जोगाउनसमेत उनलाई मुस्किल पर्ने गरेको थियो । फुसको छानो भएको सानो घरमा बस्नु मर्मुको परिवारको बाध्यता थियो । पानी परेको बेला रातभर सुत्न नपाउने अवस्था त छँदै थियो ।

मराण्डी र मर्मुजस्तै सयौँ परिवारको घरले वर्षातको समयमा पानीबाट जोगाउन नसक्ने अवस्था थियो । सबैको पीडा उस्तै । पानी परेको बेला दिउँसो त जसोतसो जोगिन सकिन्थ्यो । रात परेपछि पानी प-यो भने जाग्राम बस्नुको पीडा उनीहरूले जन्मजात ब्यहोरेका थिए । उनीहरूले वर्षातको समयमा पानी चुहिने फुसको छानो हटाउन पहल नगरेका होइनन् । तर, जस्ता खरिद गरेर सुरक्षित घर बनाउन आर्थिक अवस्था कमजोर भएका कारण सकिरहेका थिएनन् ।
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी निर्देशक महेन्द्र गिरिको आँखा प-यो र उनीहरूका लागि घर बनाएर हस्तान्तरण गर्ने अठोट पनि गरे । उनले झापा गाउँपालिका समक्ष समन्वय र सहयोग गरिदिन आग्रह गरे । त्यसपछि स्थानीय तहसहित दुईवटा संस्थाको सहकार्यमा त्यस स्थानमा अतिविपन्न ४० परिवारका लागि ४० वटा घर निर्माण भयो । निर्माण सम्पन्न भएका घर बुधबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ । जीविकोपार्जनका लागि अर्काको खेतबारीमा ज्याला मजदुर गर्दै आएका त्यस स्थानका बासिन्दा बस्नका लागि सुरक्षित घर पाएपछि दंग परेका छन् । “धेरै खुसी छौं, अब पानी परेको समयमा पनि मजाले निदाउन पाउने भयौँ, चिटिक्क परेको घर पाएपछि स्थानीय वीरेन्द्र मिश्रले भने, “हाम्रा लागि आजको दिन सबैभन्दा खुसीको दिन भयो ।” उनले सो स्थानका अझै पनि केही लक्षित तथा अतिविपन्न वर्गका नागरिकले घर अभावमा कष्टकर जीवनयापन गरिरहेको बताए ।
घर निर्माणका लागि तीनवटै संस्थाले प्रतिघर १ लाख ५० हजार रुपैंयाँ उपलब्ध गराउने गरेको छ । घरधनीले श्रमदान गर्नुपर्ने प्रावधान रहेको कार्यक्रम संयोजक लिला शिवाकोटीले बताइन् । संस्थाले उपलब्ध गराएको रकमबाट भुइँ ढलान, पिल्लर, उपचार गरेर बलियो बनाएको बाँसको छाना र जस्तापाता खरिद गर्न पुग्ने उनले जानकारी दिइन् । २ वटा कोठा र एउटा भान्साकोठा सहित चिटिक्क परेको घरको बेराबारा भने घरधनीले गर्नुपर्ने उनको भनाइ थियो । सहारा नेपालको सक्रियतामा सञ्चालित ‘सामुदायिक आवास कार्यक्रम’ मार्फत घर निर्माण भएको कार्यक्रम संयोजक शिवाकोटीले बताइन् । दातृसंस्था ह्याविट्याट र स्थानीय तहको सहयोगमा सहारा नेपालले गत वर्ष ३४८ वटा घर निर्माण गरेर हस्तान्तरण गरेको थियो । शिवाकोटीले झापाको झापा, हल्दिबारी, गौरिगञ्ज, बाह्दशी गाउँपालिका र बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिकामा सामुदायिक आवास कार्यक्रममार्फत घर निर्माण गरेर हस्तान्तरण गरिएको जानकारी दिइन् ।
झापा गाउँपालिकाका अधिकांश मानिस आर्थिक अवस्था न्यून भएकाले आवास निर्माण वरदान सावित हुने झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह बताउँछन् । १ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गरिएका घरमा गाउँपालिकाको २५ प्रतिशत लगानी रहेको अध्यक्ष साहले बताए । चालू आर्थिक वर्षमा १ सय घर निर्माणका लागि ७५ लाख रुपैयाँ बजेट छुट्याइएको उनले बताए । “झापा गाउँपालिकामा थप १ सय घर निर्माण आवश्यक देखिएको छ,” अध्यक्ष साहले भने, “यस विषयमा सहारा र ह्याविट्याटसँग छलफल भइरहेको छ, चालू आर्थिक वर्षमा दुई सय घर निर्माण गर्ने योजना छ ।” सोही कार्यक्रम अन्तर्गत यो वर्ष झापा र मोरङ जिल्लाका विभिन्न स्थानीय तहमा ६०० वटा घर निर्माण गर्ने काम भइरहेको संस्थाका कार्यकारी निर्देशक गिरिले जानकारी दिए । उनले अर्काे वर्ष १ हजार २ सय घर निर्माण गरेर हस्तान्तरण गरिने जानकारी दिए ।