कारोबार संवाददाता
सोमवार, माघ १३, २०७६
297

मुगु-हिमाली जिल्ला मुगुका सरकारी कार्यालय यतिबेला कर्मचारीविहीन छन् ।
विभिन्न बहानामा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यालय कर्मचारीविहीन बनेका हुन् । जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बुधबार जिल्ला बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन भएको हो ।

प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुँदा नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिक निराश भएर घर फर्किने गरेका छन् । जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिनादेखि जिल्लाबाहिर छन् । प्रमुख जिल्ला अधिकारी घिमिरे पनि सुरक्षा गोष्ठीको कामले जिल्ला छोडेपछि जिल्ला प्रशासन कार्यालय मुगु प्रमुखविहीन बनेको हो ।
जिल्ला प्रशासन कार्यालयमात्र हैन अन्य संघीय तथा प्रादेशिक कार्यालयका प्रमुख नहुँदा ति कार्यालय पनि प्रमुखविहीन भएका छन् । संघीय मातहतका कार्यालय जिल्ला प्रहरी कार्यालय, अनुसन्धान कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, नापी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई तथा प्रादेशिक कार्यालय वन डिभिजन कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयमा पनि प्रमुख छैनन् ।