दिलबहादुर केसी
सोमवार, मंसिर २, २०७६
2792

सार्वजनिक जग्गा अतिक्रमण

दोलखा-जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी बजारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घरटहरा ७ दिनपछि हटाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गा अतिक्रमण गरेर ४० वर्षदेखि बसालिएको बजारका घरटहरा हटाएर खाली गराउने अन्तिम तयारी थालेको छ ।
पुलको मुख भएकाले सडक र वनक्षेत्र अतिक्रमण गरेर ४ दशकदेखि बसेकालाई भने ७ दिनभित्र हट्न अन्तिम सूचना जारी गरेको छ । ७ दिनभित्र नहटे प्रशासनले बल प्रयोग गरेर भए पनि हटाउने तयारी गरेको हो । लामोसाँघु–जिरी सडक विस्तार र बजार क्षेत्रमै निर्माण हुन लागेको दोहोरो लेनको पुल बनाउन बजारका घर टहराले अवरोध पु-याएपछि स्थानीय अधिकारीलाई सार्वजनिक जग्गा अतिक्रमण गरेर चारदशक अघिको यो पुरानो बजार खाली गराउन दबाब परेको हो । बिहीबार प्रशासनमा भएको सर्वपक्षीय बैठकपछि मंसिर पहिलो साताभित्र अतिक्रमित क्षेत्र आफैं छोड्न स्थानीयलाई सूचना दिइएको छ ।
सार्वजनिक जग्गाबाट घर टहरा हटाउन स्थानीयलाई तेस्रो पटक सूचना जारी गरेको हो । त्यसको म्याद पनि शनिबार सकिएको छ । स्थानीय जनप्रतिनिधिले अन्तिम ७ दिन आफैं मिलाउने अनुरोधपछि सहमतिमा मौखिक सहमति दिएको हो । भीमेश्वर नगरपाकिला–५ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहितका जनप्रतिनिधिले आइतबार स्थलगत रूपमै पुगेर छलफल गरेका छन् । उनले स्थानीय पनि टहरा हटाउन सहमत भएको जानकारी दिए ।
“मंसिर पहिलो सातासम्म स्थानीयले आफैं खाली गरेनन् भने कानुनअनुसार बल प्रयोग हुन्छ,” प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, “सिंगै बजार सार्वजनिक जग्गामा भएकाले बजार सिंगै उठ्छ ।” अतिक्रमण हटाउन पहिलो चरणमा मुडेदेखि जिरीसम्मको राजमार्गको १५ मिटरभित्रका खाली गर्ने योजनाअनुसार तामाकोसी बजार पनि परेको हो । तामाकोसी बजारबाट पवटी जाने सडक तर्फ पनि अतिक्रमण भएकाले त्यहाँ पनि सडक विस्तार गर्न रोकिएको छ । त्यस क्षेत्रमा डिभिजन वनले हटाउन सूचना जारी गरेको छ । तामाकोसी बजारमा ५० भन्दा बढी घर टहरा रहेको भीमेश्वर नगरपालिका कार्यपालिका सदस्य रुपा शाहीले बताइन् । त्यस मध्ये केही घर आफूखुसी पिलर राखेरसमेत निर्माण गरिएका छन् ।
२०३४ सालमा स्विस सरकारले अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौर बजारबाट सुरु हुने लामोसाँघु–जिरी सडक खन्न सुरु गरेको दुई वर्षपछि यो बजार रहेको स्थानमा सडक आइपुगेको थियो । जिल्लाका जिरी, मैनापोखरीसहित दक्षिणी र पूर्वीभेग साथै रामेछापको सदरमुकाम मन्थलीतर्फ जाने यात्रुहरूको प्रमुख गन्तव्य बनेपछि यहाँ विस्तारै बजार बस्न सुरु ग-यो । किरातीछाप, नाम्दु, फस्कु, भिरकोट, पवटीसहित वरपरका मानिस झरेर यहाँ कटेरो हालेर बस्न थाले । छेउमै पुलसमेत निर्माण हुँदै गएकाले स्थानीयले यो बजारको नाम नयाँपुल राखेका थिए । ५० को दशकसम्म आइपुग्दा नयाँपुल जिल्लाकै प्रमुख बजारका रूपमा गनिन थाल्यो । तामाकोसी नदीको किनारामा रहेको यो बजार सडक भएर ओहोरदोहोर गर्नेका लागि माछा खाने प्रमुख ‘हब’ का रूपमा परिचित थियो ।
भारतीय एक्जिम बैंकको ऋण ल-याएपछि बजार खाली गराउने निर्णयमा स्थानीय प्रशासन पुगेको हो । सडकमै टसाएर अतिक्रमण गरी बनाइएका संरचनाले सडक विस्तार र पुललाई समेत अवरोध पु-याएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्र कुमार झाले बताए । “यसअघि नै पटक पटक सूचना प्रकाशन गरिसकेका थियौं,” उनले भने ।
यो सडक क्षेत्र बाहेक बजारबाट दाहिने मोडिएर जाने नयाँपुल–पवटी–डाडाखर्क सडकलाई समेत ओल्लोदेखि पल्लो बजारसम्म जोडिएका घर टहराले अवरोध पु-याइरहेका छन् । तामाकोसी बजारदेखि पवटीसम्म सडक स्तरोन्नति हुँदा तामाकोसी बजारको टहरा हटाउन नसक्दा बजार क्षेत्रमा सडक विस्तार हुन सकेन । सीताकुण्ड सामुदायिक वनको जग्गामा पर्ने यो क्षेत्रसमेत एकै पटक खाली गराउन लागिएको प्रशासनले बताएको छ ।