कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
469

जुम्ला-कर्णाली राजमार्गको जुम्ला–नाग्म सडक खण्डमा भइरहेको कालोपत्रे (रिसोलिङ) को काम पूरा नहुँदै रोकिएको छ । जुम्ला खण्डको तिला गाउँपालिका कुडारी सडक खण्ड कालोपत्रे (रिसोलिङ) काम बीचमै रोकिएको हो । सडक मर्मतको क्रममा ठेकेदार कम्पनीले कमसल काम गरेको भन्दै स्थानीयले प्रशासनमा उजुरी दिएपछि काम रोकिएको छ ।
कमसल खाले सामाग्री प्रयोग भएको, खाल्डा नपुरिएको, भन्दै तिला ३ कुडारीका जरिलाल भट्टराई लगात गाउँलेहरुले केही समय अगाडी जिल्ला प्रशासन, प्रहरी कार्यालय र सडक विभागमा मौसम उपयुक्त नभएकोे भन्दै सडक निर्माणको काम रोक्न उजुरी दिएका हुन् ।

‘ठेकेदारले काम राम्रो गरेनन् । काम कमसल भएको छ’ भट्टराईले भने, ‘प्रविधि राम्रो भएपनि मौसमले साथ नदिएको कारण गुणस्तरीय नहुने भन्दै तत्काल रोक्न उजुरी दिएपछि काम बन्द भएको भयो ।’ कात्तिक लागेसँगै कालोपत्र, सिमेण्टको काम चिसोले गुणस्तर हुँदैन । तर ठेगेदारले गुणस्तर काम गर्न खोज्दा पनि मौसमले साथ नदिएकोले रोक्न लगाएको स्थानीय कर्ण हमालले बताए ।
नेपालगञ्ज सुर्खेत जस्तै तातो ठाउँमा समस्या नरहेपनि, चिसो ठाउँका लागि अहिले कालोपत्रे उपयुत्त छैन । सडक रिसोलिङको क्रममा कमसल गुणस्तरको भएको र माटो देखिरहेको तथा हालेको अलकत्रमा गिट्टी नटाँसिएको तिला गाउँपलिका ४ का कैलाशकुमार शाहीले बताए ।
स्थानीयले उजुरी गरेपछि तत्काल काम रोकिएको निर्माण कम्पनीले जनाएको छ । खड्का निर्माण सेवा कम्पनीले जिम्मा लिएको उक्त सडक मर्मत तथा रिसोलिङ काममा सामाग्री चाहिने भन्दा बढी प्रयोग भएको छ ।
कम्पन्नीका सुमन खड्काले भने, काम राम्रो गर्न खोज्दा पनि चिसो मौसमका कारण नराम्रो देखिएकाले सडक मर्मत रोकिएको छ ।’ निर्माण सेवाले ७६ हजार वर्ग मिटर बराबरको सडक मर्मतको जिम्मा लिएको छ ।
यता डिभिजन सडक कार्यलयले सस्तो र राम्रो प्रविधि प्रयोग गरी सडक मर्मत गर्न लागेका जनाएको छ । तर स्थानीयले यो खालको प्रविधि नबुझेको हुनाले विरोध गरिरहेको कार्यालयका प्रमुख श्रवणकुमार महताराले बताए । ‘हालसम्म कर्णाली राजमार्गमा यस्तो काम भएको छैन । रिसिलिङको काम हो ।’ उनले भने, ‘चिसो धेरै भएकोले गिटी र अलकत्रा नटासिएपछि स्थानीय आक्रोसमा आएका हुन् ।’