दिलबहादुर केसी
शुक्रवार, कार्तिक २२, २०७६
583

दोलखाको सिंगटी बजार माछाका लागि प्रख्यात छ । स्थानीय जातको माछा खाने पारखीहरूका लागि यो बजार महत्वपूर्ण मानिन्छ । तर, सिंगटी बजार भएर बग्ने नदी किनारमा अस्पताल र फार्मेसीबाट निस्किएका औषधीजन्य फोहोर यत्रतत्र देखिएको छ ।
सिंगटी बजार भएर बग्ने तामाकोसी नदी र सिंगटी खोलामा दैनिक माझीले माछा मार्छन् । तिनै माछा सिंगटीका होटलमा पुग्छन् त कति कोसेलीका रूपमा राजधानी काठमाडौंसम्म । तर, बगरमा देखिएका यस्ता फोहोरले स्थानीयहरू समेत झस्किएका छन् ।

सिंगटी खोला तामाकोसीमा मिसिने दोभानको बगरमा अस्पतालबाट निस्कने सुई, ग्लोब्स, प्याड, स्लाइन पानीका बोतलहरू जस्ता औषधीजन्य फोहोर देखिएको छ । यि फोहोरहरू सिंगटी बजारमा सञ्चालित निजीस्तरका अस्पताल र फार्मेसीबाटै निस्किएको हुन सक्ने स्थानीयहरूको अनुमान छ । त्यही फोहोरलाई दैनिक जसो कागले चलाएर अन्यत्र फैलाइ छ ।
सिंगटीको बिगू गाउँपालिका–४ मा सिद्धार्थ फार्मेसी र खोलीखिममा अर्को एक गरी २ वटा फार्मेसी छ । त्यस्तै कालिञ्चोक गाउँपालिका–३ मा रोल्वालिङ सामुदायिक अस्पताल, जीवन फार्मेसी छ । त्यसैगरी बजारभन्दा डेढ किलोमिटर माथि सरकारी स्तरको एक प्राथमिक स्वास्थ्य केन्द्र पनि छ । अस्पताल र फार्मेसीले प्रयोग भइसकेका फोहोरहरू व्यवस्थापन गर्नुको साटो सोझै नदीमा हालिदिंँदा यस्तो अवस्था देखिएको स्थानीय प्रकाश केसीले बताए ।
वातावरण विद् दीपक केसीले औषधीजन्य फोहोर अरु सामान्य फोहोरभन्दा सयौं गुणा खतरनाक भएको बताए । यस्ता फोहोर सोझै नदीमा फाल्दा जलप्रणाली र खाद्य चक्रमै असर पार्ने बताए । औषधीजन्य फोहोर व्यवस्थापन सामान्य फोहोर व्यवस्थापनभन्दा व्यवस्थित हुनुपर्ने विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको छुट्टै कानुन रहेको केसीले जानकारी दिए ।
औषधीजन्य फोहोरले माछा जस्ता जलचरमा १० गुणा बढी र त्यही माछा मानिसले खाँदा १०० गुणासम्म असर गर्ने वातावरण विद् केसीले बताए । फोहोरलाई कागजस्ता पन्छीले चाँडै अन्यत्र फैलाउन सक्ने बताए ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले यो फोहोर संरक्षण क्षेत्र बाहिरबाट आएको हुन सक्ने बताए । संरक्षण क्षेत्र भित्रबाट आए कडा कारबाही हुने बताए । औषधीजन्य फोहोरबाट फोहोर फालेका ठाउँभन्दा धेरै तलसम्म असर गर्ने बताए । दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फोहोर क्षेत्रका अध्ययन गरेर त्यसको त्यसलाई कानुनी कारबाही हुने बताए ।