कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
218

गोरखा- स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर १ को बजेट बाँडफाँड गरिएको छ । प्रतिनिधिसभाका साँसद हरिराज अधिकारीको संयोजकत्वमा बसेको बैठकले कुल ६ करोड रुपैयाँको बजेट विभिन्न योजनाका लागि बाँडफाँड गरेको हो ।
जिल्ला समन्वय समितिको प्रशासनिक खर्चबाहेक ३४ वटा योजनामा बजेट वितरण गरिएको साँसद अधिकारीले जानकारी दिए । कुल बजेटको ५० प्रतिशत रकम ५० लाखभन्दा माथिका योजनामा र बाँकी आधा बजेट १० लाखभन्दा कम नहुने गरी वितरण गर्नुपर्ने कार्यविधि अनुसार नै बजेट बाँडफाँड गरिएको उनको भनाइ छ । जसअन्तर्गत ५० लाख बजेटका ६ वटा योजना छन् ।

गण्डकी गाउँपालिका–२ को ठुटेपिपल–पातिस्वारा–घ्याम्प्रिङ गाउँ दलभन्ज्याङ सडक स्तरोन्नति, सहिद लखन गाउँपालिकाको बुंकोट देउराली–रानीस्वारा–चिसोपानी तिनमाने सडक स्तरोन्नति र अश्राङ रिप–अमला भन्ज्याङ–नारायणपुर–हेल्थपोस्ट सडक स्तरोन्नतिका लागि ५० लाखका दरले बजेट विनियोजन गरिएको छ । आरुघाट गाउँपालिकाको आर्खेत–थुमी–गणेश मावि–वासपुर–मालस्वारा सतिडाँडा सडक स्तरोन्नति, धार्चे गाउँपालिकाको गुम्दा–पौटु–लापु सडक स्तरोन्नति र गोरखा क्याम्पस–नांगलेपानी–सानो रिप–अमराई बेनीखोला सडक स्तरोन्नतिका लागि पनि ५० लाखका दरले रकम छुट्याइएको जिल्ला समन्वय समितिले जनाएको छ । बाँकी योजनामध्ये गण्डकी गाउँपालिका–५ मा रानीस्वाँरा सामुदायिक भवन निर्माणका लागि १४ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने अरु सबै योजना १० लाख रुपैयाँका छन् ।
यस्तै जनशक्ति मावि खेल मैदान निर्माण, विजया भवानी मावि कम्पाउण्ड निर्माण, गण्डकी गाउँपालिका–२ को भलायोडाँडा महिला सामुदायिक भवन निर्माण, गण्डकी–८ को बेनीगाउँ चण्डीभञ्ज्याङ युवा क्लब सामुदायिक भवन निर्माण र गोरखा नगरपालिका ६ को पर्यटन सूचना केन्द्रका लागि पनि १०-१० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।