प्रकाश पाक्साँवा
बिहिवार, कार्तिक २१, २०७६
473

तेह्रथुम- जिल्लाको ग्रामिण महिला यतिबेला केही न केही व्यावसायिक रमाई रहेका पाइन्छन् । जिल्लामा रहेका बिभिन्न संघ–संस्थाहरूले दिएको सीप आर्जनसँगै आत्मनिर्भर बन्न थालेका छन् । पानी पधेरी  मेलापर्ममा मात्रै सीमित बन्दै आएका महिलाहरू अदुवा, अकबरे खुर्सानी, तरकारीखेती र ढाका बुनाइ व्यवसायमा आकर्षित हुन थालेका छन् । महिलाको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई आर्थिक रूपमा समेत आत्मनिर्भर बनाउन बस्ती–बस्तीमा महिला समूहहरू गठनसँगै आर्थिक उन्नतिका लागि कार्यक्रम लागू भएपछि महिलाको आर्थिकस्तर बढ्न थालेको हो ।
घरभित्रको चुलो चौकोमा सीमित महिला पनि पुरुष जस्तै पेसा व्यवसाय गरेर मनग्ये आम्दानी गर्न थालेपछि गाउँमा महिला हिंसा भएका घटनासमेत त्यति सुनिन्दैनन् । गाउँमा गठन भएका महिला समूहमा उनीहरूले आफ्नो क्षमता र रुचि अनुसारको व्यवसाय छनोट गरी तालिमसमेत लिएर एक्लै तथा सामूहिक रूपमा व्यावसायिक कार्य गर्दै आएका छन् । उनीहरूलाई समूह गठनदेखि सचेतीकरण, तालिम र खेती प्रविधि व्यवसाय सञ्चालन तथा उत्पादित बस्तुको बजार व्यवस्थापन गर्न जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूले सहजीकरण गरेको हो ।

महिलाले ठाउँ र सम्भावनालाई समेत हेरेर व्यवसाय सुरु गरेका छन् । जिल्लाको दुई नगरपालिकासहित ६ वटा स्थानीय तहका ग्रामिण क्षेत्रका महिलाहरू यतिबेला केही न केही व्यवसाय गर्दै आएका छन् । यहाँका महिलाहरूले ढाका बुनाइ, सिलाइ, कटाइ, बुटिकलगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन् । ३० देखि ४० महिला रहेको समूहमा आफ्नो रुचि अनुसारका फरक–फरक तर व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । महिलाले व्यवसाय सञ्चालनसँगै व्यावसायिक रूपमा तरकारी खेतीका साथै नगदेबाली अकबरे, आलु, टमटर, काउली र अदुवा खेती गर्दै आएका छन् ।
हातमा सीप भएपछि धेरै आम्दानी नभए पनि आत्मनिर्भर हुँदा धेरै खुसी रहेको छथर ओख्रेकी मुना लिम्बूले बताइन् । महिलाले गरेको व्यवसायबाट उत्पादित वस्तुको बजार प्रबद्र्धनका लागि शुक्रबारे बजारमा छथर कोसेली घरको स्थापना गरी बजारीकरण गर्दै आएको कोशेली घरका प्रोपाइटर मनकुमारी लिम्बूले बताइन् । सुरु–सुरुमा तालिम लिएर आत्मानिर्भर बन्न सकिने कुरा दुबिधा रहेको ग्रामीण महिलाहरू यतिबेला आफ्नै व्यवसाय आम्दानीको स्रोतको रूपमा लिँदै आएका छन् ।
यहाँका महिलाहरूद्वारा उत्पादित घरेलु सामाग्री बिक्री गर्न बजारको समस्या छैन । पछिल्लो समय महिलाहरू कृषि तथा पशुपालन पनि उत्तिकै रूपमा सक्रिय हुन थालेका छन् । मेहनत गरे जागिर नै खानुपर्छ भन्ने मान्यतालाई चिर्दै आफ्नै घर घरमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । महिलाहरूलाई ऊर्जाशील बनाउ स्थानीय सरकारले पनि बिभिन्न समयहरूका बिभिन्न तालिमहरू सञ्चालन गर्दै आएका छन् ।