सागर परियार
बिहिवार, कार्तिक २१, २०७६
805

जुम्ला-तिला गाउँपालिका–८ जुम्लाकोट गाउँमा मंगलबार साँझ पुग्दा गाउँको एकतर्फी झिलीमिल बत्ती बलिरहेको थियो भने, अर्कोतर्फ अध्याँरो । अचम्म त एकै गाउँमा कतै उज्यालो कतै अध्याँरो देखेर । हिँड्दै जाँदा सोही गाउँका मिलन बस्नेत भेटिए । उनीसँग बुझ्दा उनले भने कांग्रेसका घरमा बत्ती छ, नेकपाका घरमा बत्ती छैन भने ।
१२ वर्षीय बस्नेतले गरेको कुरा सुनेर अचम्म लाग्यो । सायद सुन्दा सबैलाई अचम्म नै लाग्न सक्छ । तर तिला गाउँपालिका–८ जुम्लाकोट गाउँमा नेकपा र काग्रेसको राजनीतिले दशकौंदेखि जिउँदाको जन्ती र मर्दाको मलामी नचल्ने गरी राजनीति चरिरहेको छ । बुधबार बिहानै जुम्लाकोट गाउँका भद्र भलादमीदेखि नेकपा र कांग्रेसका नेतालाई राखियो । बुझ्दै जाँदा राजनीतिक लडाइँ गाउँमा २०४७ सालदेखि सुरु भएको रहेछ ।
गाउँमा रहेका १ सय ६० घरधुरीमध्ये ४२ घर कांग्रेस र १ सय २८ घरधुरी नेकपा छन् । विवाद हुदै जाँदा २०६७ सालमा नेपाली कांग्रेसका प्रेम बस्नेतसँगै १८ जना माओवादीमा प्रवेश गरेपछि गाउँमा काग्रेस र नेकपाको लडाइँ चर्किएको ८ नम्बर वडासदस्य रात्ना बस्नेतले बताए । उनका अनुसार सानो कुरामा पनि राजनीतिक विषय जोडेर तरबारसहितको लडाइँ धेरै पटक भयो । कांग्रेस परित्याग गरी माओवादीमा गएको भन्दै कांग्रेसको जग्गमा बसेको भन्दै ८ जना स्थानीय घर छोडेर एक साता मन्दिरमा बास बस्नु परेको पीडित चन्द्रवीर बस्नेतले सुनाए ।

 एकै गाउँमा पार्टीको बत्ती

२०५७ सालमा जुम्लाकोट गाउँमा एउटै बत्ती थियो । २७ लाखको लागतमा निर्माण भएको २५ किलोवाट बत्तीले १ सय ७० घरधुरी झिलिमिली थिए । २०५७ देखि २०६९ सम्म सबै बत्ती पनि बाले । तर राजनीतिक विवाद चुलिँदै गयो, एमाले माओवादीकाले आफ्नो जगामा पावर भएको, हाम्रै लगानी रहेको भन्दै काग्रेसलाई धम्काउन थालेपछि २०६९ सालबाट कांग्रेसले बत्ती बाल्न छोडेको कांग्रेसका कार्यकर्ता तथा वडा सदस्य रत्ना बस्नेतले बताए ।
उनका अनुसार २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा ३० लाखको लागतमा ९ किलोवाटको विद्युत् उत्पादन गरी २०७३ सालबाट बत्ती बाले । बत्तीले कांग्रेसका घरमात्रै झिलीमिली भए । कांग्रेसले ल्याएको बत्ती नेकपालाई नदिने भन्दै लाइन नदिएको समेत बस्नेतको भनाइ छ । नेकपाको बत्ती बिग्रिएको झण्डै तीन वर्ष भयो ।

विवाहको भोजसमेत चल्दैन
‘जिउँदाको जन्ती र मर्दाको मलामी’ भन्ने नेपाली उखान छ । सामाजिक एकता र विकासका लागि जिउँदाको जन्ती मर्दाको मलामी आवश्यकताको विषय पनि हो । तर जुम्लाकोट गाउँमा भने, नेकपा र कांग्रेसबीच विवाह भोज चल्दैन । २०६५ सालमा कांग्रेसका लालबहादुर बस्नेतको विवाहमा तत्कालीन एमाले र माओवादी गएनन् ।
त्यसपछि कांग्रेसका कार्यकर्ताले पनि एकै गाउँभित्र बदलाको भावनाले विवाह हुँदा पाटी मिल्दैन भनेर माओवादी एमालेको विवाहमा नआएको स्थानीय बताउँछन् । राजनीतिक लडाइँले भावी आउने पुस्ताको मानसिकता नै बदलिदिएका छन् । साना बालबालिका पनि कहिले नेकपा–कांग्रेस भनेर लडाइ गर्ने गरेका छन् ।
मलामी नजाने राजनीति
मानवियता भन्दा पक्कै पनि राजनीति ठूलो नहोला । तर जुम्लाकोटमा विगतदेखि भइरहेको घीनलाग्दो राजनीतिक लडाइँले सामाजिक द्वन्द्व फैलिएको छ । सत्रु भए पनि मर्दा मलामी जाने र आँसु झार्ने नेपाली संस्कारमा राजनीतिले सबै तोडेको ज्वलन्त उदाहरण जुम्लाकोटमा भेटियो । २०६५ साल जेठ महिनामा तत्कालीन माओवादीका मानसिंह बस्नेतको मृत्यु भयो । गाउँमा विव्यस गठनका लागि भेला भइरहेको थियो । नेकपाका धनबहादुर बस्नेतले भने, “अध्यक्ष बन्न पार्टीगत विवाद भइरहेको बेला मानसिंह बस्नेतको मृत्यु भएपछि, मलामी जान मान्छे पुगेनन् ।” उनले थपे, “आफै आउनुपर्ने ठाउँमा धेरै पटक बिन्ती गर्दा पनि कांग्रेसका कोही पनि मलामी आइदिएनन् । त्यसपछि काग्रेस र नेकपाबीच अहिलेसम्म मलामी पनि चल्दैन ।” तर यता, कांग्रेसका कार्यकर्ता जैसिके बस्नेत भन्छन, “स्थानीय सरकारको चुनावपछि मलामी जाने तर प्रीतिभोज खाँदैनौ ।”

पानी घट्ट पनि छुट्टै
एक दशक पहिले विद्युत्जस्तै जुम्लाकोटमा पानी घट्ट पनि एकै थियो । पछि हुँदाहुँदा घरको बत्तीदेखि खोलाको पानीघट्टसम्म राजनीति मिसियो । घट्टमै गएर पिस्न लिएको अन्नपातसमेत फालाफाल भयो । कांग्रेसका बलबहादुर बस्नेतले भने, “पानीघट्ट सबै नेकपाका जग्गामा थिए ।” महिला पुरुषबीच लडाइँ हुँदा पनि नेकपाले घट्ट हाम्रै जग्गामा छ भन्दै धम्की दिएपछि कांग्रेस पक्षले दुईवटा पानी घट्ट निर्माण गरी सञ्चालनमा ल्याएका छन् । नेकपाको पुरानै घट्ट यथावत छ ।