अमरराज आचार्य
बिहिवार, कार्तिक २१, २०७६
259

दाङ-जिल्लामा स्थापना भएको एक नमूना थारुग्राम बन्द अवस्थामा पुगेको छ । थारु जातिले बसोबास गर्ने घरसँगै कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले करिव ११ वर्ष पहिले स्थापना भएको घोराही उपमहानगरपालिका वडा नं ७ सिसहनिया नमूना थारुग्राम अहिले अलपत्रे अवस्थामा पुगेको छ ।
सुरुका दिनमा केही चहल पहल भए पनि पछिल्लो सुनसान गरेको छ । पर्यटन प्रवद्र्धनका लागि सिसहनीयामा नमूना थारुग्राम निर्माण गरिएको थियो ।

अहिले आर्थिक अभावसँगै नमूना थारुग्राम सञ्चालनका लागि नयाँ पुस्तामा ज्ञान नहुँदा २०६५ सालमा स्थापना गरि सञ्चालनमा आएको नमूना थारुग्राम बन्द हुन अवस्थामा पुगेको हो । जसका कारण सरकारले लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरेका संरचनाहरु प्रयोग बिहिन हुन पुगेका छन् ।
थारु जातिका परम्परागत घरहरु, उनीहरुले प्रयोग गर्ने भाँडाकुँडा, लगाउने कपडा, बोलिने भाषा, बसाइँसराई झल्काउने चित्रहरुसँगै अन्य विभिन्न कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २०६५ सालमा तत्कालीन जिल्ला विकास समितिअन्र्तगतको पर्यटन शाखाले ३ लाख १५ हजार रुपैयाँ खर्च गरेर घोराही उपमहानगरपालिका वडा नं. ७ सिसहनियामा नमूना थारुग्राम निर्माण गरीएको थियो । उक्त स्थानमा थारु जातिका परम्परागत पाँच वटा घरहरु निर्माण गरिएको छ ।
घर निर्माणसँगै भित्तामा थारु जातिसँग सम्बन्धीत विभिन्न चित्रहरु समेत बनाइएको छ । घरमा भित्तामा घोडा, हात्ती, माछाहरुको चित्रहरु, थारुले शिखर बोकेका चित्रहरुसँगै घरभित्र बस्ने, खानलाई प्रयोग गरिने सामग्रीहरु राखिएको सिसहनिया नमूना थारुग्रामकाक अध्यक्ष बेझलाल चौधरीले जानकारी दिए । उनका अनुसार धान कुट्नलाई प्रयोग गरिने ढिकी, चाखीसँगै तेल पेल्नलाई प्रयोग गरिने कोल समेत स्थापना गरिएको छ ।
‘थारु जातिका परम्परागत पाँच वटा घरहरु बनाएर करिव चार विगाह जमिनलाई नमूना थारुग्रामका रुपमा विकास गर्ने प्रयास गरिएको थियो’, अध्यक्ष चौधरीले भने, ‘तर होमस्टे सञ्चालनको ज्ञानको अभावसँगै राज्यले सहयोग नगर्दा अघि बढ्न सकेन ।’
होमस्टे अघि बढ्न नसक्दा त्यो बेला बनाएका घरहरु मात्र रहेका छन् । स्थापनासँगै केही समय त्यहाँ पुग्ने पाहुनालाई थारु खाना, रितिरिवाजका बारेमा जानकारी दिनेसँगै मनोरञ्जनका लागि नृत्य समेत देखाइने गरेको अध्यक्ष चौधरीले बताए । उनका अनुसार उक्त ठाउँमा त्यहाँ पुग्ने पाहुनालाई बस्न र सुत्नका लागि समेत व्यवस्था गरिएको थियो । नूमना थारुग्रामलाई विकास गर्दै उक्त स्थानमा थारु संग्राहलय स्थापना गरिने, ग्रीनपार्क लगायतका संरचनाहरु निर्माण गर्ने भनिए पनि अहिलेसम्म निर्माण हुन नसकेको बताए ।
‘बाहिरबाट आउने पाउनालाई थारु जातिहरुको इतिहास, संस्कृति र रितिरिवाजका बारेमा जानकारी दिने उद्देश्यले घरहरु निर्माण गरिएका हुन’, थारु कल्याणकारीणी सभा दाङका अध्यक्ष भुवन चौधरीले भने, ‘नमूना थारुग्राम सञ्चालनका लागि राज्यले स्थानीयलाई ज्ञान दिन नसक्दा नमूना थारुग्राम अघि बढ्न सकेन ।’
थारुग्राम सञ्चालनका लागि स्थानीयलाई त्यस सम्बन्धी ज्ञानसँगै यस क्षेत्रको प्रचारप्रसार हुन आवश्यक रहेको अध्यक्ष चौधरीले बताए । नमूना थारुग्राम सञ्चालनका लागि उपमहानगरपालिकाले सहयोग गर्ने घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् । थारू समुदायको इतिहास र सस्कृतिको संरक्षणसँगै होमस्टेलाई सञ्चालन गर्न सके आय आर्जनमाम समेत सहयोग पुग्ने भएकाले नमूना थारुग्राम सञ्चालन हुनु पर्र्ने समेत चौधरीले बताए ।
‘नमूना थारुग्रामलाई थारु जातिको कला र संस्कृति संरक्षणसँगै आय आर्जन गर्ने माध्यमका रुपमा विकास गर्न आवश्यक छ’, नगरप्रमुख चौधरीले भने । जसले गर्दा कला संस्कृतिको संरक्षण सँगै स्थानीयलाई केही आम्दानी समेत हुन उनको भनाइ रहेको छ । नमूना थारूग्राम सञ्चालन, विकास र संरक्षणका लागि नयाँ पुस्ता लाग्न आवश्यक रहेको छ ।
नमूना थारुग्राम सञ्चालनका लागि स्थानीय अग्रसर भए घोराही उपमहानगरपालिकाले ज्ञान र सिप प्रदानमा सहयागे गर्ने समेत उनको भनाइ रहेको छ ।