नीरज पिठाकोटे
बिहिवार, कार्तिक १४, २०७६
157

वीरगन्ज-वीरगन्ज महानगरपालिकाको मध्यभाग भएर बग्ने सिर्सिया नदीमा भएको प्रदूषण नियन्त्रण माग गर्दै सरोकारवालाले बिहीबारदेखि दबाबमूलक कार्यक्रम थालेका छन् । पर्साको दर्जनभन्दा बढी गाउँ र टोलवासीले छठ पर्व मनाउँदै आएको धार्मिक आस्थासमेत बोकेको सिर्सिया नदीमा प्रदूषण बढिरहेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् ।
सिर्सिया नदीको प्रदूषण रोक्न सरकारी निकायबाट पहल नगरेपछि यस वर्ष पनि फोहोर र प्रदूषित नदीमै छठ पर्व मनाउनु पर्ने बाध्यता रहेको गुनासो आएपछि नदीको प्रदूषण रोक्न माग गर्दै संघर्ष समिति नै बनाएर दबाबमूलक आन्दोलन थालिएको हो । सरिसवा नदी एवं वीरगन्ज प्रदूषणमुक्त अभियानले बिहीबार वीरगन्जमा मोटरसाइकल जुलुश प्रदर्शन गर्दै स्थानीय सरकार र स्थानीय प्रशासनमा ज्ञापनपत्र पनि बुझाएको छ । वीरगन्जको घण्टाघरबाट निकालिएको मोटरसाइकल जुलुशमा सहभागीहरूले जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतलाई नदीमा बगेको फोहोर पानी र उद्योगबाट निस्किएको छाई (फलामको धूलोको कण) सहित ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयबाट फर्किएको जुलुशले वीरगन्ज महानगरपालिकामा पनि पुगेर नगरप्रमुख विजय सरावगीलाइ पनि ज्ञापनपत्र र फोहोर पानीसहितको बोतल उपहार दिएको छ । सरिसवा नदी एवं वीरगन्ज प्रदूषणमुक्त अभियानका संयोजक सुरेन्द्र कुर्मीले वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगबाट निस्किने दुषित र रसायनयुक्त पानीले गर्दा नदीमा प्रदूषण बढेको भन्दै छठका लागि मात्र नभई सधैंका लागि सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउनु पर्ने माग गर्दै आएको बताए । संघर्ष समितिको आन्दोलनमा महानगरपालिकाका वडा अध्यक्षहरूले पनि सहमति जनाएका छन् । वीरगन्ज महानगरपालिका–९ का वडाध्यक्ष मनोज कलवार, वडा नम्बर १८ का वडाध्यक्ष ब्रम्हदेव राउत कुर्मी, वडा नम्बर २३ का वडाध्यक्ष अवधकिशोर कुशवाहा, वडा नम्बर २४ का वडाध्यक्ष दशरथ पटेल, वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रा, प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंह, सामाजिक अभियन्ताहरू प्रकाश थारु, ओम प्रकाश सर्राफलगायतको सहभागिता थियो ।
नदीमा दूषित पानी फाल्ने उद्योगका सञ्चालक र प्रबन्धक पक्राउ
र्सिसिया नदीमा प्रदूषण रोक्न दबाब दिन आन्दोलन गरिरहेकै समयमा उद्योगबाट दूषित पानी नदीमा छोड्ने उद्योगका सञ्चालकसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित हिमालयन लेदर उद्योगका सञ्चालक चिनियाँ नागरिक ३६ वर्षीय लिउता छुवाङ र उद्योगका प्रबन्धक भारतीय नागरिक ३५ वर्षीय तिनजुङ गुरुङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । छाला उद्योगको छाला प्रशोधन पश्चात निस्किएको रसायनयुक्त प्रदुषित पानी सिर्सिया नदीमा उत्सर्जन गर्दै गरेको अवस्थामा गएराति प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिए ।
छाला उद्योगबाट निस्किएको रसायनयुक्त फोहोर पानी र्सिसिया नदीमा नबगाउन पटक पटक अनुरोध र निर्देशन दिँदा पनि अटेर गरी नदीमै फोहोर पानी बगाउँदै आएकोले उद्योगका सञ्चालक र प्रबन्धक दुवैजनालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तराई मधेसको सबैभन्दा ठूलो छठ पर्वलाई मध्यनजर गर्दै प्रशासनले छठ पर्वसम्म र्सिसिया नदीमा उद्योगहरूलाई फोहोर नफाल्न निर्देशन दिएको थियो ।