कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
125

दमौली- तनहुँको भानु नगरपालिकाको चितुवा प्रभावित वडा १, २, ३ र ४ लाई संकटग्रस्त वडा घोषणा गर्न माग गरिएको छ । प्रतिनिधिसभा तनहुँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानको नेतृत्वमा बिहीबार गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई भेट गरी चितुवा प्रभावित भानु नपाका ४ वटा वडालाई संकटग्रस्त वडा घोषणा गरी नागरिकको जिउधनको सुरक्षा गर्न माग गरिएको हो ।
श्रेष्ठको नेतृत्वमा तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, भानु नपाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे र डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले गृहमन्त्री थापा र गृहसचिव राईलाई भेट गरी चितुवा नियन्त्रणका लागि संघीय सरकारको तर्फबाट आवश्यक कदम चाल्न र नागरिकको जिउधनको सुरक्षाको लागि आवश्यक सबै उपाय अवलम्बन गर्न माग गरिएको सांसद श्रेष्ठले जानकारी दिए ।
चितुवाको आक्रमणबाट भानुको ४ वटा वडामा डेढ वर्षको अवधिमा ६ जना बालबालिकाको ज्यान गइसकेको छ । नरभक्षी चितुवाको आक्रमणबाट ०७४ फागुन १ गते भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, ०७५ कात्तिक २९ गते जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १९ गतेढल्केबरका १० वर्षीय अमृत गुरुङ, ०७६ जेठ २४ गते भकुण्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते जामुनेगैह्राका ४ वर्षीय आशिष बानिया र यही कात्तिक ११ गते ऋतिक रोकाको ज्यान गएको छ ।