कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
476

अर्घाखाँची-प्रदेश नं. ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग र शिवशक्ति मिश्रित कृषक समूहको सक्रियतामा पोखराथोकमा कोल्डस्टोर स्थापना हुने भएको छ ।
मन्त्रालयको १ करोड ८७ लाख ७५ हजार तथा शिवशक्ति मिश्रित कृषक समूहको ६२ लाख ५८ हजार गरि कुल २ करोड ५० लाख ३३ हजारको लागतमा ३ सय मेट्रिकटन क्षमताको चिस्यान केन्द्र बन्न लागेको हो । जिल्लामा सुन्तलाको पकेट क्षेत्रको रूपमा रहेको पणेना र पोखराथोकका कृषकमा कोल्डस्टोरको निर्माणसँगै निक्कै उत्साहित भएका छन् । आफूले उत्पादन गरेको सुन्तलाले राम्रो बजारभाउ पाउने उनीहरूको विश्वास छ ।

कोल्डस्टोर निर्माणको काम सुरुवात गर्दै प्रदेश सांसद रामजीप्रसाद घिमिरेले कृषि, पशुपालन र पर्यटनका माध्यमबाट जिल्लालाई समृद्ध पार्ने बताए । भौतिक निर्माणका अतिरिक्त कृषि र पर्यटनको कामलाई तीव्र पार्न नसके जिल्लाका बासिन्दाको जीवनस्तरमा सुधार गर्न नसकिने बताउँदै घिमिरेले कृषिमा व्यावसायिक र आधुनिकीकरणका निम्ति हरेक किसिमको सहयोग गर्न सरकार तयार रहेको बताए ।
सडकमात्रै विकास हो, भन्ने मान्यताबाट माथि उठ्न आग्रह गर्दै सांसद घिमिरेले भएका सडकलाई स्तर वृद्धि गर्दै नयाँ ट्रयाक खोल्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताए । डांडाकाँडा भत्काउँदा पानीका मुहान सुक्नुका साथै भूक्षय र बाढीपहिरोको खतरा बढ्दै गएको भन्दै उनले अर्घाखाँचीजस्तो सानो जिल्लामा २ हजारभन्दा बढी सडक निर्माणाधीन रहेको र सबै तिर बजेट छर्दा प्रमुख सडकको काम अधुरो रहेको बताए ।
राष्ट्रिय स्वाधीनताको जगमा निर्माण भएको सरकारले विकासका पूर्वाधारको निर्माणमा तीव्रता दिनुका साथै जनताका दूरगामी महत्वका असंख्य काम सम्पन्न गरेको दाबी गरे । सरकारको कामबाट अत्तालिएकाले सरकारविरुद्ध विषबमन गर्दै जनतालाई दिग्भ्रमित पार्ने काम गरेको बताउँदै उनले सचेत रहन जनतालाई आग्रह गरे ।
पाणिनि गाउँपालिकाका अध्यक्ष अच्यूत गौतमले कृषि र पर्यटनको विकास गरी पालिकालाई समृद्ध पार्ने योजना रहेको बताए । उनले प्रदेश सरकारले जिल्लामा पहिलोपटक पाणिनि गाउँपालिकामा कोल्डस्टोर निर्माणको तयारी गरेको भन्दै आफ्नो तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
२०७७ असार १५ गतेसम्म निर्माण सम्पन्न हुने कोल्डस्टोरबाट पाणिनि गाउँपालिकाभित्र र आसपासका जनताले प्रत्यक्ष लाभ लिन सक्नेछन् । पोख्राथोक र पणेनाबाट वार्षिक करिब १० करोडभन्दा बढीको सुन्तला बिक्री हुनेगर्छ । गाउँपालिकाका करिब ५ सय कृषकले व्यावसायिक रूपमा तरकारी र फलफूल खेती गर्न थालेका छन् । शिवशक्ति मिश्रित कृषक समूह स्थानीय कृषकहरु द्वारा स्थापित संस्था हो । संस्थामा १ सय २५ महिला र १ सय ५ जना पुरुष गरी २ सय ३० जना सदस्य छन् ।