कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
522

नेपालगञ्ज-गत भदौ १२ गते नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवालगायतका स्थानमा गाईको मृत्यु भएको घटनाको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । नेपालगञ्ज उपमहनगरपालिकाले सो विषयमा छानबिनका लागि अधिवक्ता विकास आचार्यको अध्यक्षतामा समिति गठन गरेको थियो ।
प्रतिवेदनमा पशु ढुवानी मापदण्ड पूरा नगरी असुरक्षित रुपमा ढुवानी गरेको, ढुवानीकर्ता र जिम्मा दिइएका कर्मचारीहरुले आवश्यक सतर्कता नअपनाएको र सम्बन्धित निकायमा समयमै सूचना नगरेको कारण अकल्पनीय घटना हुन पुगेको उल्लेख गरिएको छ । त्यस्तै गाईगोरुको हत्या नियोजित रुपमा गरेको नभइ लापरबाहीका कारणबाट हुन गएको बताइएको छ । स्थलगत अनुगमन र छानबिनका क्रममा उपलब्ध तथ्यहरुका अनुसार समयमै अपनाउनु पर्ने सतर्कता नअपनाएका कारण घटना भएको उक्त प्रतिवेदनले औंल्याएको छ ।

छानविन टोलीले पशु सेवा ऐन २०५५, नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ ले निर्दिष्ट गरेका प्रावधान विपरीत पशु ढुवानी गर्दाको परिणाम अप्रिय घटना घटेको जनाएको छ ।
‘आगामी दिनमा यस्ता घटना हुन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले विशेष ध्यान दिनुपर्ने देखिन्छ’ प्रतिवेदनले भनेको छ । ‘यसका लागि आफ्नो क्षेत्रमा पालन गरेका पशु पंक्षीहरुको तथ्याङ्क एकिन गर्ने, पशुपंक्षी पालन गर्ने व्यक्ति÷संघ संस्थालाई पूर्ण जिम्मेवार बनाउन ट्याकिङ्ग गर्ने, पशु बीमा गर्ने र बेवारिसे छाड्नेलाई नीति नियम तथा कार्यविधि बनाई लागु गर्नुपर्ने देखिन्छ ।’
प्रतिवेदनमा संरक्षण र सम्वद्र्धनको प्रवन्ध गर्ने मोडेल गौ उद्यान (काउ पार्क)को रुपमा विकास गरी पर्यटक प्रवर्दन समेत टेवा पुग्ने व्यवस्था गर्न’ समितिले प्रतिवेदनमा सुझाव दिएको छ । २८७ पृष्ठको प्रतिवेदन बुझ्दै मेयर डा. धवलशमशेर राणाले राम्रो नियत र मनसायले गरेको काममा कहिलेकाँही सोच्दै नसोचेको भएको घटनाले पाठ सिकाएको भन्दै प्रतिवेदनमा निर्दिष्ट गरिएका तथ्यहरुलाई मनन् गरी प्राप्त सुझावहरुको कार्यान्वयनका लागि प्रतिवद्धता जनाए ।
छानविन समितिलाई धन्यवाद दिँदै उनले छाडा चौपायको व्यवस्थापन र कान्जीहाउसमा रहेका गाईगोरुको उचित व्यवस्थापनको उपमहानगरपालिका एकदमै गम्भीर रहेको बताए । समितिमा पत्रकार पूर्णलाल चुके, रामकुमार सोनकर, खिमानन्द अर्याल, जनकराम भण्डारी, बसन्त गौतम र विश्वजित तिवारी रहेका थिए ।