लक्ष्मण ढुंगाना
मंगलबार, आश्विन १४, २०७६
557

बाँके-दसैं नजिकिँदै गर्दा रोजगारीको शिलशिलामा परदेशमा गएकाहरू धमाधम घर फर्किरहेका छन् । कामका लागि बाहिर गएका नेपालीहरू दसैं मनाउन घर फर्किन थालेपछि भारतीय सीमावर्ती नेपालगन्ज नाकामा चहल पहल बढेको छ । लामो समयसम्म कामका लागि बाहिरिनेहरू दसैंको समयमा घर फर्किन पाउँदा निकै उत्साहित देखिन्छन् ।
दसैँ नजिकिएसँगै आजभोलि हरेक दिन यस नाकामा घर फर्किनेको लर्को लाग्ने गरेको छ । बिहान पाँच बजेदेखि यस नाकाबाट हुलका हुल मानिस लस्करै घर फर्किने गरेका छन् । विशेषगरी रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपालीहरू दसैं मनाउन घर फर्कने गरेका हुन् । दसैं मनाउन घर फर्किनेहरूको हरेक वर्ष सीमानाका जमुनाहमा यस्तै भीड लाग्ने गर्दछ । हिन्दुहरूको महान चाड दसैं भएका कारण दसैंको अवसरमा आफन्तजनको आशिर्वाद लिन, भेटघाट र परिवारसँगै खुसी साटासाट गर्न पाउने भएपछि निकै खुसी लागेको तुलसीपुर–१४ दाङका कमल योगीको भनाइ छ ।

सरकारले बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने भन्दै स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरेको बताएको छ । तर, यसरी बाहिर जानेहरू स्वदेशमा काम गर्ने वातावरण र अवसर नपाएका कारण भारत जानु बाध्यता रहेको बताउँछन् । परदेशमा निकै दुःख गरेर कमाए पनि घर फर्किन लाग्दा बाटोमा निकै सास्ती हुने गरेको बताउँदै सकुशल मातृभूमि प्रवेश गर्न पाएकोमा निकै खुसी लागेको शिवालय गाउँपालिका–७ जाजरकोटका नकुल नेपालीले बताए । “यसवर्ष गतवर्षको जस्तो सास्ती छैन,” उनले भने, “सहजै नेपाली नाकामा पुग्दा घर पुगेजस्तो महसुस भयो ।”
यतिबेला नेपालगन्ज नाकाबाट दिनहुँ  करिब २ हजार बढी नेपाली घर फर्किने गरेका छन् । प्रहरीले सीमामा यात्रु सुरक्षाका लागि विशेष सतर्कता अपनाएको छ । यात्रुलाई ठगिन नदिनुका साथै आपराधिक गतिविधि हुन नदिन सिसी क्यामेरा जडान गरी निगरानी बढाएको छ इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज माधव रिजालले बताए । चाडपर्वका बेला सीमा नाकाबाट घरफर्किने नेपालीलाई रिक्सा, टाँगा, बसलगायतले ठगी गरिरहेको पाइएकोले त्यस्तो बढी रकम असुलेकाहरूको रकम फिर्ता गराएको उनको भनाइ छ । भारतबाट आउने यात्रुलाई तत्काल सहयोग गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रदान गरिरहेका छन ।
आम्दानीको कुनै पनि स्रोत नभएकाले परदेशमा कमाउन जानु आफूहरूको बाध्यता भएको फर्किनेहरूको भनाइ छ । उनीहरू सरकारले स्वदेशमै रोजगारीको वातावरण र अवसर दिनसके अबका सबै दसैंलगायत अन्य चाडबाड परिवारसँगै घरमै बसेर मनाउने बताउँछन् ।