मीनकुमार नवोदित
सोमवार, आश्विन १३, २०७६
629

विराटनगर-सामान्यतया घटस्थापनादेखि वडादसैं भित्रिएको मानिन्छ । यही बीचमा बजारमा बढी चहलपहल हुने गर्दछ । प्रदेशमा रहेका आफन्तजन पनि घटस्थापनादेखि सुरु गर्छन् घर फर्किन ।
जागिर, व्यापार, अध्ययन जुनसुकै कामका सिलसिलामा लामो समय घरभन्दा टाढा रहेका आफन्तहरूबीच भेटघाट हुने महत्वपूर्ण अवसर पनि जुटाइदिन्छ वडादसैंले । साथीभाइ भेला भएर दुःखसुख साटासाट गर्ने अवसर पनि दिन्छ दसैंले । यो चाडलाई भेटघाट, खानपान र नयाँ लुगा लगाउने महत्वपूर्ण अवसरका रूपमा लिन्छ । जतिसुकै गरिब होस् उसले यो चाडमा बनिबुतो गरेर भए पनि मीठो खान्छ । आफ्ना सन्तानलाई नयाँ लुगा किनिदिन्छ । दसैंको छुट्टै महत्व छ नेपाली समाजमा । अन्य समयमा भन्दा बढी व्यापार हुन्छ । जसका कारण उद्योगी र व्यापारीले आम्दानी गर्ने विशेष समय पनि हो दसैं । मुलुकको औद्योगिक नगरीको उपमा पाएको विराटनगरलाई पनि बडादसैंले छपक्कै छोपिसकेको छ । किनमेलसँगै दसैंका लागि आवश्यक पर्ने सामानको जोहो गर्न सक्रिय छन् यतिबेला विराटनगरवासी ।

निराश छन् विराटनगरका व्यापारी
विराटनगरका व्यापारीलाई अझै दसैंबजारले छुन सकेको छैन । सीमावर्ती भारतीय बजार जोगबनीका कारण विराटनगरको बजार खासै जम्न सकेको छैन । अझ एसियाली विकास बैंकको ऋण सहयोगमा जारी सडक, ढल र नाला निर्माणले बजार क्षेत्र अस्तव्यस्त छ । सबै सडक भत्काइएको छ । बजारसम्म पुग्न ग्राहकले निकै सास्ती बेहोर्नुपर्छ । सडक भत्काएकै कारण यहाँका उपभोक्ता जोगबनी जान बाध्य छन् । “साँच्चै भन्नुपर्दा विराटनगरको व्यापार नाजुक छ यतिबेला । हामीले जिल्ला प्रशासन, प्रहरी र भन्सारलाई अवैध आयात रोक्न पटक–पटक भनेका छौं । तर, पनि रोकिएको छैन,” विराट व्यापार संघका अध्यक्ष सुजन थापाले भने, “अझ विराटनगर महानगरपालिकाले जथाभावी सडक भत्काएकाले पनि व्यापार खस्किएको छ । सामान्य पानी पर्दा हिलो हुने र घाम लाग्दा धुलाम्मे हुन्छ । यस्तो अवस्थामा उपभोक्ता आउने कुरै भएन । बरु सिटी रिक्सा र गाडी चढेर जोगबनी जान्छन् ।” जोगबनी बजार नेपाली उपभोक्ताकै कारण गुल्जार हुने गरेको छ । त्यहाँ दैनिक ६ करोडभन्दा बढीको कारोबार हुने गरेको छ । विराटनगरबाट ७ किलोमिटरको दूरीमा अवस्थित छ जोगबनी ।
विराटनगरका व्यापारीका लागि भारतीय सीमावर्ती बजार जोगबनी र खुल्ला सिमाना नै अभिसाप भएको खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष संजयकुमारसिंह मण्डल बताउँछन् । विगतदेखि नै यहाँका व्यापारीले जोगबनीको पीडा झेल्दै आएको उनले बताए । बजारको सडक भत्काएकाले झनै यस वर्ष बढी पीडा झेल्नुपरेको मण्डलको कथन छ । “विराटनगरका व्यापारीलाई अझै दसैं लागेको छैन,” अध्यक्ष मण्डलले भने, “अब लाग्ने सम्भावना पनि कमै छ । सबै उपभोक्ता जोगबनी गइरहेका छन् ।”

दसैंको उमंग छैन पहाडमा
डेढ दशकअघिसम्म पहाडको दसैंको रौनक अर्कै थियो । कमेरो र रातो माटोले घर पोत्ने । बाटो सरसफाई गर्ने । पिङ हाल्ने । गाउँका युवाहरू भेला भएर भलिबल खेल्ने । गाउँ त्यही छ तर अहिले सबै परिवेश फेरिएको छ । वैदेशिक रोजगारीका कारण युवा छैनन् गाउँमा । पिङ लगाइँदैन । बाटो र गोरेटाहरू खनिँदैन । गाउँका गोरेटाहरू मासिएका छन् । डोजरले सडक खनिएका छन् । डेढ दशकयता गाउँको दसैंमा पूरै परिवर्तन आएको खोटाङ दिप्रुङ गाउँपालिका स्थायी घर भएका राम दंगाल बताउँछन् । “गाउँमा दसैंको उमंग छैन,” नेकपा खोटाङका सचिवसमेत रहेका दंगाल भन्छन्, “युवा पलायन, प्रविधिको प्रयोगलगायतका कारण पछिल्लो समय दसैं फिक्का हुने गरेको छ ।”
यातायातको सुविधाले अहिले दसैंलाई सहज बनाएको उनी सुनाउँछन् । “विगतमा ढिकीमा रातभरि चिउरा कुट्नुपथ्र्यो । तराईका बजारबाट दसैंका सामान लग्नुपथ्र्यो,” उनले थपे, “तर अहिले त ट्रयाक्टरबाट व्यापारीले चामल, चिउरालगायतका सामान घरघरमै पु¥याइदिन्छन् । सुविधाको हिसाबले धेरै सहज भएको छ अहिले ।”
रेमिट्यान्सका कारण नेपालीहरूको आर्थिकस्तरमा सुधार आएकाले पनि दसैंको महत्व घटेको उनको बुझाइ छ । “मीठो खान, नयाँ लुगा लगाउन, रमाइलो गर्न पहिला–पहिला दसैं नै पर्खिनु पथ्र्यो,” दंगाल थप्छन्, “अब त्यो समय रहेन । अभावकै दसैं हुँदा पनि छुट्टै रमाइलो हुन्थ्यो विगतमा ।”
साहित्यकारसमेत रहेका इलामका युद्धप्रसाद वैद्यको शब्दमा पनि पछिल्लो समय पहाडी क्षेत्रमा दसैंको उमंगमा ह्रास आएको छ । यसको प्रमुख कारण वैदेशिक रोजगारी भएको उनको पनि ठम्याइ छ । “सबै युवा विदेशमा छन् । युवा नहुँदा गाउँ नै उदास देखिन्छ,” वैद्यले भने, “रमाइलो गर्ने त युवाले नै हो । वृद्धवृद्धा, बालबालिका र महिलालाई दसैंको खासै वास्ता हुँदैन ।”
दसैंको महत्व घट्दै जाँदा संस्कृति र परम्पराहरू नै लोप हुने हो कि भन्ने चिन्तामा छन् संखुवासभा खाँदबारीका ताराबहादुर बुढाथोकी । उनकै शब्दमा अंग्रेजी नयाँ वर्ष र क्रिस्मस्डे भव्य रूपमा मनाउन थालिएको छ । “हाम्रा संस्कृतिलाई हामीले नै हो संरक्षण र संवद्र्धन गर्ने,” उनले भने, “नेपाली मौलिक चाडवाडको महत्व युवापुस्तालाई बुझाउनुपर्छ ।”

दसैंमा मासुका परिकार
दसैंको पर्यायवाची नै मासु हो भन्न सकिन्छ । अन्य चाडको तुलनामा दसैंमा मासुको परिकार बढी नै पाक्ने गर्दछ । घर–घरमा खसी, बोका, राँगा, सुँगुर, हाँस, परेवा, कुखुराको बलि दिन्छन् । बलि दिइएको मासुलाई प्रसादका रूपमा ग्रहण गरिन्छ । दसैंकै लागि भनेर एक वर्षअघिदेखि नै कतिपयले खसी, बोका, राँगा, सुँकुर, हाँस, परेवा र कुखुराको जोहो गर्ने गर्दछन् । विराटनगरका मारवाडी समुदायका उद्योगीले दसैंमा साकाहारी परिकार सेवन गरे पनि पहाडे समुदाय उद्योगीले पनि मांसाहारी परिकार नै प्रयोग गर्दछन् । दसैंको विदालाई परिवार, आफन्त र इष्टमित्रसँगको भेटघाट र रमाइलोमा प्रयोग गर्ने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले बताए । “अन्य समयमा उद्योगको कामले व्यस्त भइन्छ, राउतले भने, “विदामा घरमै बसेर माछामासु खाने, गफ गर्ने र रमाइलो गर्ने योजना छ ।” विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि साथीभाइ, इष्टमित्रसँग भेटघाट गरेर दसैं मनाउने तयारीमा छन् । धार्मिक कार्यक्रममा पनि सहभागी हुने उनले सुनाए । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि दसैंमा आफन्तसँग भेटघाट गरेर परिवारका सदस्यसँग रमाउने योजना बताए ।

साकाहारीलाई मीठाई
विराटनगरमा मारवाडी समुदायको बाक्लो बसोबास छ । मारवाडी समुदायमा भने मासुका परिकार त्यति चल्दैन । यो समुदायका अधिकांश मानिस साकाहारी परिकार खान्छन् । उद्योग संगठन मोरङका उपाध्यक्षसमेत रहेका नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छा दसैंलाई खानपिनभन्दा पनि घुमघामका लागि अवसरका रूपमा लिन्छन् । विगतका दसैंमा विभिन्न मुलुकको भ्रमण गरे पनि यसपटक भने नेपालकै ठाउँ घुम्न योजना छ गोल्छाको । “यो नै ठाउँ भन्ने छैन,” उनले भने, “तर, विराटनगरबाट नजिकैको इलाम, भेंडेटार, हिले, वसन्तपुरलगायतका आन्तरिक पर्यटकीयस्थल घुम्ने सोच बनाएको छु ।” उनले दसैंमा मीठाइका परिकार र फलफूल खाने गरेको सुनाए । त्यसो त विराटनगरको प्रतिष्ठित औद्योगिक घराना क्वालिटी गु्रपका नवलकिशोर काबरा पनि दसैंलाई खानपानभन्दा घुमघामको अवसरका रूपमा लिने गरेका छन् । दसैंमा सबै कार्यालय र उद्योग बन्द हुने भएकाले तनावरहित वातावरणमा घुम्ने गरेको उनले सुनाए । काबराले भने दसैंमा विदेश नघुम्ने गरेको बताए । उनले परिवार, इष्टमित्र, आफन्तसँग बसेर दसैं मनाउने योजना बनाएका छन् । बराहक्षेत्र, चतरा, सखडालगायतका धार्मिकस्थल घुम्ने योजना बनाएका छन् उनले । उनको पनि साहाकारीबाहेकको परिकार पाक्दैन । मारवाडी समुदायका अधिकांश मानिसले साकाहारी नै प्रयोग गर्दछन् । उनीहरूका लागि लक्षित गरेर होटल ह्यारिसन, आँगन, युनिकलगायतले साकाहारी परिकार उलब्ध गराउँछन् ।

फलफूलमा ध्यान
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमाा सञ्चालिक एक जुट उद्योगमा काम गर्ने विराटनगरका मनोज यादव फलफूल व्यापार थालेका छन् । उनी सधैं फलफूलको व्यापार गर्दैनन् । उनको मौसमी व्यापार हो यो । उनी दसैंदेखि छठसम्म फलफूलको व्यापार गर्छन् । यो समयमा स्याउ र केराको बिक्री धेरै नै हुने गरेको यादव सुनाउँछन् । “छठसम्म फलफूलको व्यापार गर्छु त्यसपछि त पुरानै काम छँदैछ,” यादवले भने । टीका लगाउन जानेले कोशेलीका रूपमा स्याउ र केरा नै लिएर जान्छन् । यो अवधिमा दैनिक १ हजारसम्म कमाउने गरेको उनले सुनाए । अन्य समयको तुलनामा ६० प्रतिशत बढी फूलफूलको व्यापार हुने गरेको गुद्रीमा १७ वर्षदेखि फलफूलको व्यापार गर्दै आएका मुन्ना सहनीले जानकारी गराए । यस वर्ष मागलाई धान्ने गरी स्याउ र केराको आयात भइसकेको सहनीले सुनाए ।

सुनको मूल्यवद्धिले गरगहनाभन्दा अन्य सामान खरिद
अन्य समयको तुलनामा दसैंमा आर्थिक कारोबार बढी नै हुन्छ । सरकारी मात्रै होइन निजी कार्यालयमा काम गर्नेहरूले पनि तलब र बोनस पाएका छन् यतिबेला । त्यही पैसाबाट विभिन्न सामान खरिद गर्ने योजना बुनेका हुन्छन् । यसपटक सुनको मूल्यवृद्धिले अधिकांशको ध्यान गरगहना खरिदतर्फ ध्यान छैन । बरु अधिकांशले फ्रिज, वासिन मेसिन, माइक्रो ओभन, टेलिभिजन, दराज, सोफा, पलङलगायतका सामान पनि खरिद गर्ने योजना बनाएका छन् ।
विगतमा अधिकांशले सुन–चाँदीको गरगहना जोड्थे । तलब र बोनसबापत भएको पैसा बैंकमा राखेर ब्याज खाने योजना बुनेका छन् विराटनगर–१२ का रोहित पौडेलले । पौडेल दम्पत्ति नै सरकारी जागिरे हुन् । अघिल्लो वर्ष सुनको मंगलसूत्र जोडेका थिए उनले । चकलेट कम्पनीको बजार प्रतिनिधिमा कार्यरत दीपक कटवालले स्कुटर किन्ने योजना बनाएका छन् । विराटनगर–४ की रोशनी भट्टराईले भ्याकुन क्लिनर र माइक्रो ओमन किन्ने योजना बुनेकी छन् । कम्प्युटर डिजाइनमा संलग्न जेनिस कोइराला बुलेट मोटरसाइकल किन्ने तयारी गर्दैछन् । “कम्पनीहरूले दसैंमा छुट र उपहार अफर दिने भएकाले मोटरसाइकल किन्ने सोच बनाएको छु,” कोइरालाले भने, “फूलपातीको दिन किनौं कि भन्दैछु ।”
विराटनगरस्थित लक्ष्मी ट्रेनिङ हाउसका सञ्चालक सुवास आचार्य अहिलेसम्म मोटरसाइकल र कारको माग खासै नभएको सुनाउँछन् । दसैंका लागि भनेर नयाँ मोडलका मोटरसाइकल र कार आयात गरेका छन् । दसैंदेखि छठ पर्वसम्म बढी कारोबार हुने गरेको उनको भनाइ छ । तर, यसपटक विगतको जस्तो व्यापार नहुने हो कि भन्ने चिन्ता लागेको आचार्यले बताए । “विभिन्न करका कारण महँगी बढेको छ । उपभोक्ताको आम्दानी बढ्न सकेको छैन,” आचार्यले भने ।