कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
258

खोटाङ-खोटाङ-लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मङ्गलबार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो । मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए । दशैँको मुखमा यातायात सेवा अवरुद्ध भएपछि खोटाङबाट राजधानी तथा तराईका जिल्ला आवतजावत गर्ने यात्रुलाई सबैभन्दा बढी समस्या भएको छ । जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्धले दैनिक उपभोग्यवस्तु अभाव हुने सम्भावना देखिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । हप्ता दिनदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ । कच्ची अवस्थामा रहेको जिल्लाको सबै ग्रामीण सडक अवरुद्ध भएपछि आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ । 
कालोपत्रको काम थालिएको मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा ४६ किलोमिटर सडक निर्माण कम्पनीले निर्वाधरूपमा सवारी साधन चल्ने वातावरण बनाउन नसक्दा अवरुद्ध बनेको स्थानीयवासीले बताएका छन् । उक्त सडकखण्डमा गत जेठ २६ गते झरेको पहिरो हटाउन नपाउँदै पुनः पहिरो झरेको निर्माण कम्पनी रमण गोल्डेन गुड जेबीका प्रबन्ध निर्देशक शाङ्गे शेर्पाले बताए । वर्षाका कारण हिलो जम्दा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारकै सडकमा पैदलयात्रुलाई हिँड्डुल गर्नसमेत सकस भएको छ । दिक्तेल बजारको विभिन्न ठाउँमा जमेको हिलोमा कतिपय सवारी साधन घण्टौँ अड्किने गरेको छ । अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेलबजार कालोपत्र गर्न सडक विभागबाट पाँच वर्षअघि बजेट आए पनि स्थानीयवासीको अवरोधका कारण अहिलेसम्म पनि कालोपत्र हुन सकेको छैन ।