कृञ्जला पुलामी
शुक्रवार, आश्विन ३, २०७६
391

सिन्धुली-जिल्लाका धान फल्ने मुख्य फाँटहरु यतिबेला घरैघरले ढाकिएका छन् । खेती योग्य उर्वर भूमीका रुपमा चिनिएका माढिबजार, तीनपाटन, दुधौली र मरिणका खेतीयोग्य जमिनमा धमाधम घर निर्माण भइरहेका छन् ।
शहरीकरणसँगै बिस्तारै घरहरु थपिँदै गएपनि भूकम्पपछि नयाँ घर थपिने क्रम ह्वात्तै बढेको छ । पहिले यतिबेला हरियो धान देखिने ठाँउमा अहिले रंगिविरंगी घरहरु देख्न सकिन्छ ।
कमलामाई नगरपालिकाका–४ स्थित धुराफाँटमा छोटो अवधिमै सयौँ घर थपिएका छन् । यसरी घरहरुको संख्या बढेसँगै यो ठाँउ नयाँ नाम वीपी नगरले समेत चिनिन थालेको छ ।
पछिल्लो ३ वर्ष यता यस फाँटमा घर बन्न थालेको वीपी नगर टोल सुधार समितिका अध्यक्ष मानध्वज भोलनले बताए । ‘यहाँ घर बनाउनेको त लर्काे नै लागेको छ । ६ सयभन्दा धेरै घर छन्, कतिपयले अझै बनाउदैछन् ।’ भोलनले भने, ‘यसरी घर बनाउन सुरु भएको धेरै भएकै छैन ।’ छोटो समयमा यो फाँटमा ६ सय घर बनिसकेका छन् ।
खेतीयोग्य जमिनमा धमाधम घर बन्ने क्रम बढिरहदाँ पनि सरोकारवाला निकायले यसलाई रोक्न खासै ध्यान दिएको छैन ।
‘उर्वर फाँट विनाश हुन लाग्यो भनेर ३ वर्ष अघिदेखि नै नेताहरुसँग भनिरहेको छु ।’ स्थानीय फाल्गुणी शर्माले भने, ‘कसैले पनि मेरो कुरा नै सुन्नुभएन । तर अझै पनि उर्वर जमिनहरु जोगाउन सकिन्छ ।’
खेती योग्य जमिनमा घर बन्न थालेसँगै उत्पादन घट्न थालेको थालेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरतप्रसाद विडारीले बताए । खेतीयोग्य जमिनमा बस्ती बढ्दै जाँदा उत्पादन घट्ने समस्या देखा पर्न थालेको छ ।’ विडारीले भने, ‘अब पनि प्लटिङलाई निरुत्साहित गर्नेतर्फ ध्यान नदिए खाद्य संकट हुने संभावना छ ।’
कमलामाई नगरपालिकामा वर्षेनी खेती योग्य जमिन माँसिदै जाँदा स्थानीय सरकारले भने त्यसको संरक्षणको लागि केही कदम चालेको देखिदैन । ‘यस्तै गर्ने भन्ने निचोटमा चाँही हामी पुगेका छैनौ ।’ नगरको कृषि शाखा संयोजक तथा उपप्रमुख मञ्जु देवकोटा भनिन्, ‘किसानलाई खेतीमा प्रोत्साहन गर्न बिऊ, विजनदेखि उपकरणसम्ममा अनुदान दिइरहेका छौँ, तर पनि खेतमा घर बनेको बनेकै छ । यो क्रमलाई रोक्नेतर्फ हाम्रो ध्यान चाँही गइराछ तर अहिलेसम्म हामीले केही गरेका छैनौँ ।’

खेतीयोग्य जमिनको खण्डीकरण
सिन्धुलीमा खेतीयोग्य जमिनको खण्डीकरण बढ्दै गएको छ । एक वर्षमा जिल्लामा ६८० कित्ता जमिन टुक्रयाएर ६ हजार ९२१ टुक्रामा विभाजन गरिएको छ । बढी जसो घडेरीका नाममा खेतीयोग्य जमिन कित्ताकाट भइरहेको नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज श्रेष्ठले बताए ।
पछिल्लो समय खेतीयोग्य उर्वर जमिनमासमेत बसोबास गर्ने क्रम बढेको छ । सदरमुकाममै खेतीयोग्य जमिन मासेर संयौँ घर निर्माण भएका छन् भने जिल्लामा खेती योग्य जमिन बाँझै रहने क्रम पनि बढेको छ ।
कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा १३ हजार ९२४ हेक्टर क्षेत्रफल खेतियोग्य जमिन बाँझो रहेको छ ।
जिल्लामा कुल ६२ हजार ७१३ हेक्टर क्षेत्रफल खेतियोग्य जमिन रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख भरतप्रसाद विडारीले बताए । जसमा ४८ हजार ७८९ हेक्टर क्षेत्रफल जमिनमा मात्र खेति गरिएको छ ।