कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
290

जनकपुर- प्रदेश नम्बर २ का नीति आयोगका नवनियुक्त उपाध्यक्ष प्रा. डा. भोगेन्द्र झाले प्रदेश २ को दिगो तथा मानव विकासका लागि ३ वटा क्षेत्रमा ध्यान दिनुपर्ने बताएका छन् ।
बिहीबार जनकपुरमा राष्ट्रिय योजना आयोग, यूएनडीपी र नीति आयोगको आयोजनामा भएको दिगो तथा मानव विकास विषयक कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. झाले शिक्षा, स्वास्थ्य र ज्ञानलाई विशेष प्राथमिकता दिएर अघि बढेमा मात्रै प्रदेश समृद्धि र विकासतर्फ अग्रसरता लिने उनको दाबी थियो । उनले समृद्ध मुलुक र खुसियाली नेपाली देश निर्माणका लागि गरिब जनतालाई केन्द्रित गरेर विभिन्न योजना ल्याउनुपर्ने धारणा व्यक्त गरे । उनले संविधानमै समाजवाद उन्मुख उल्लेख गरिएको हुनाले गरिब तथा निमुखा जनतालाई केन्द्रित गरेर नीति तथा योजना नल्याएसम्म परम्परागत नीति तथा योेजनाको कुनै औचित्य नहुने बताए ।

उनले मुलुक कृषि प्रधान रहेकाले मुलुकका जग्गा जमिनलाई एकीकृत गरी व्यवस्थितरूपमा कार्य योजना बनाउनुपर्ने आवश्यकता रहेको आंैल्याए । उनले कृषि व्यवस्थापनका लागि जग्गामा एकीकृत जग्गा गरी चक्लाबन्दी, उत्पादकत्वमा वृद्धि, साना, मझौला उद्योगलाई प्रोत्साहन गर्ने र खेतीपाती तथा सिँचाइका लागि किसानको संजाल निर्माण गरी खेतिपाती गर्नुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै नीति आयोगका सदस्य डा.सुरेन्द्रकुमार झाले केन्द्र वा प्रदेश सरकारले नीति आयोगले दिएको योजनालाई आत्मसाथ गरेमा प्रदेश र देशले फड्को मार्ने टिप्पणी गरे । उनले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, रोजगार क्षेत्रलाई केन्द्रित गरेर पर्यटन, कृषितर्फका योजना निर्माण गरेर अघि बढेमा समृद्ध नेपाल समृद्ध प्रदेश अवश्य हुने धारणा व्यक्त गरे ।
प्रदेश नम्बर २ सरकारको सचिवस्तरीय यस कार्यक्रममा विभिन्न वक्ताले प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रलाई अनिवार्य र निःशुल्क गर्नुपर्ने बताए ।