कारोबार संवाददाता
बिहिवार, भदौ २६, २०७६
290

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकालाई संघीयता पछिको प्रदेश नं. २ को पहिलो तथा नेपालको तेस्रो बालमैत्री नगरपालिका घोषणा गरेका छन् ।
बालमैत्री नगरपालिकाले बालअधिकार महासन्धिमा उल्लेखित बालअधिकारको सवाललाई आत्मसाथ गर्ने गर्दछ, जसलाई नेपालले सन् १९९० मा अनुमोदन गरिसकेको छ । बालमैत्रीनगरपालिका निर्माणको यात्रामा कञ्चनरुप नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको छ । जसका कारण बालबालिकाको आवाज र विचारलाई बालबालिकासम्बन्धी नीति, कार्यक्रम निर्माण तथा निर्णय प्रक्रियामा महत्वपूर्ण स्थान दिएको छ ।

कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्तकुमारले भने, “हामीले नगरपालिकालाई बालमैत्री घोषणा ग¥यौं, योसँगै बालअधिकार र बालमैत्री स्थानीय शासनलाई दिगो बनाउनुपर्छ भन्ने थप जिम्मेवारी हामीले महसुस गरेका छांै । हामीले बालिबालिकाको अवस्था र सूचकहरु थप राम्रो बनाउन, गुणस्तरीय बालमैत्री वातावरण निर्माणका लागि बालबालिकाको क्षेत्रमा निरन्तर लगानी गर्नेछौं । हामीले बालबालिकाको समग्र वृद्धि, विकासलाई प्राथमिकतामा राखी बालमैत्री नगरको पहिचान स्थापित गरी, जसको निरन्तरता सदैव हुनेछ ।”
बालमैत्रीनगर निर्माणका लागि मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । सोही अनुरुप कञ्चनरुप नगरपालिकाले सन् २०१५ देखि नै बालबालिकाको क्षेत्रमा पुँजीगत बजेटको १५ प्रतिशत बजेट विनियोजन गर्दै आएको छ । जसले गर्दा शतप्रतिशत बालबलिका विद्यालय भर्ना हुन सहयोग मिलेको छ, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय छ, सबै बालबालिकालाई पूर्ण खोप लगाइएको छ, सबै घरमा शौचालय बनेको छ, बालबालिकाको जन्मदर्ता पनि भएको छ । साथै नगरपालिकाले होटल, यातायात, घरलगायतका क्षेत्रमा रहेका बालश्रम न्यूनीकरणको काम तीव्र रुपमा गरिरहेको छ र बालविवाह रोकथाम, न्यूनीकरणका लागि समेत सक्रियताका साथ काम गरिरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति अनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ३९ वटा सूचक पूरा गर्नुपर्ने भए पनि कञ्चनरुप नगरपालिकाले दुई सूचक थप गरी ४१ वटा सूचकमा काम गरिहेको छ । जसमध्ये ३१ सूचकमा शतप्रतिशत र बाँकी सूचकमा ९० प्रतिशतभन्दा बढी नतिजा प्राप्त गरेको छ ।
युनिसेफ नेपालका राष्ट्रिय प्रतिनिधि एलके विस भन्छन्, “कञ्चनरुप नगरपालिकाका सम्पूर्ण बालबालिका, युवा र समग्र नगरवासीलाई युनिसेफ बधाई दिन चाहान्छ, जसले बालमैत्री स्थानीयशासनको महाअभियानलाई सफलबनाउन योगदान गर्नुभयो ।” बालअधिकार महासन्धि पारित भएको ३० वर्षको उत्सव मनाउने पूर्वसन्ध्यामा नगरपालिका बालमैत्री घोषणा हुनु भनेको बालअधिकारको अनुभूतिको उत्कृष्ट उदाहरण हो ।”
कञ्चनरुप नगरपालिकाले बालमैत्री नगरको यात्रा सन् ९० को दशकदेखि नै सुरु गरिसकेको थियो ।
कञ्चनरुप नगरपालिकाका बालसञ्जाल अध्यक्ष राहुल अलि (१६) का अनुसार “नगरपालिकाका सम्पूर्ण बालबालिकाको सपना पूरा भएको छ । बालमैत्री घोषणा गर्ने क्रमसँगै बालमैत्रीनगरको रूपमा हामीले सबै बालबालिकाको अधिकार सुनिश्चित गरेका छौं ।”