गोपाल पोखरेल
मंगलबार, भदौ २४, २०७६
277

उदयपुर-सवारी साधनको चाप अत्याधिक बढेपनि त्रियुगा नगरपालिकाको सदरमुकाम गाईघाटलगायत अधिकाँस बजार क्षेत्रमा पार्किङस्थलको व्यबस्था नहुँदा सवारी साधन सडकमै पार्किङ गर्नु पर्ने बाध्यता छ । बजार क्षेत्रमा पार्किङस्थलको उचित व्यवस्था नहुँदा सवारी आवगमनमा समेत समस्या उत्पन्न हुँदै  आएको छ । सडकमै सवारी साधन पार्किङ गरिँदा बजारको सौन्र्दय समेत बिग्रिदै गएको स्थानीयले बताएका छन् ।
“सुरक्षा र ट्राफिक व्यवस्थापनको दृष्टिले पनि पार्किङस्थलको अति नै आवश्यकता छ,” स्थानीय युवराज बस्नेतले भने, “तर नगरपालिकाले पार्किङस्थलको दीर्घकालीन सोच बनाएको छैन ।” जथाभावी सवारी साधन राखिने भएकाले गाईघाट बजारको सौन्दर्य बिग्रिनुका साथै बजार अस्तव्यस्त हुने गरेको उनले बताए ।

“नगर क्षेत्रमा दैनिक साना ठूला सवारी साधनको चाप अत्याधिक बढ्दै गएको छ,” स्थानीय विदुर खड्काले भने, “तर नगरपालिका छेउको सामान्य ठाउँ बाहेक अन्य कतैपनि पार्किङस्थल छैन ।” बजार व्यवस्थित गर्न र नगरको सौन्र्दय बढाउन पार्किङस्थल आवश्यक हुने उनको भनाइ छ ।
जनसंख्याको बृद्धिसँगै नगर शहरीकरणतिर उन्मुख हँुदै जाँदा अहिलेको कार्यालय समेत सा“घुरो हँुदै गएको र नगरपालिकासँगै वैंक समेत रहेकाले दिउँसो आवतजावत गर्नै समस्या हुने उनले सुनाए । बजारका हरेक चोकमा जथाभावी गरिने पार्किङले नगरलाई कुरुप बनाउँदै गएकोमा स्थानीयले चासो व्यक्त गरेपनि सरोकारवाला निकायले खासै वास्ता गरेको छैन । नगरको मुख्य क्षेत्र प्रवेश गर्न त्रियुगा नदीदेखि मुख्य चोकसम्मका सडक किनारामा पार्किङ र ग्यारेज छ । यसले गर्दा ट्राफिक समस्या बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।
“बजारको मुख्य चोकदेखि उत्तर दक्षिण सडकमा जथाभावी साना ठूला सवारी साधनको पार्किङ हेर्दा सडक छुट्याउनै गार्हो हुन्छ” स्थानीय सिएम गुराँगाईले भने “सडक व्यवस्थित गर्न नसक्दा जथाभावी पार्किङ हुने गर्छ ।” नगरपालिकाले सक्रियता देखाए पार्किङसँगै आम्दानीको स्रोत समेत बढ्ने उनले वताए ।
“नगरपालिकाले व्यवस्थित पार्किङस्थल बनाएर आम्दानी गर्ने सोच नलिँदा पनि समस्या बढ्दै गएको हो । अन्य नगरपालिकाले पार्किङस्थल बनाएर मासिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका भएपनि यहाँ भने त्यो हुन सकेको छैन ।
पार्किङस्थलको अभाव हुँदा हरेक दिन गाईघाट बजारको मुख्य सडक , बैंक रोड र पिजी चोकदेखि बोक्से जाने बाटोसम्मको ट्राफिक व्यवस्थापन गर्न समस्या हुने ट्राफिक प्रहरीको भनाई छ । “ बैकिंङसेवा र नगरपालिकाको सेवा लिन आउने सर्वसाधारणको भिड विशेष गरी वैंक रोडमा हुने भएकाले यहाँ व्यवस्थापन गर्न समस्या हुन्छ ” ट्राफिक हवल्दार भेषराज थापाले भने,“ व्यवस्थित पार्किगस्थल हुने हो भने बजारको सुन्दरता कायम राख्न र दुर्घटना न्यूनिकरण गर्न सजिलो हुने थियो ।” यससँगै नगरपालिकाको आम्दानी समेत बढेर जाने उनले बताए ।


सातामा धेरै पढिएको