केशव समर्पण
मंगलबार, भदौ २४, २०७६
216

हेटौंडा-प्रदेश–३ सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालनमा ल्याइएको पशु बधशाला बेवारिसे बनेको छ । एक महिनाअघिबाट निजी क्षेत्रको लगानीमा हेटौंडा औद्योगिक क्षेत्रमा बफेलो क्वालिटी फुड प्रालिले व्यवस्थित बधशाला सञ्चालनमा ल्याएकोमा हेटौंडाका व्यवसायीले भने त्यसको उपयोग गर्न आनाकानी गरिरहेका छन् ।
हेटौंडामा अव्यवस्थित रुपमा भइरहेको पशुपंक्षीको बधलाई नियन्त्रण गरी स्वच्छ मासु उत्पादन तथा वातावरणलाई समेत ध्यानमा राखेर प्रदेश र स्थानीय तहको सक्रियतामा बधशाला सञ्चालनमा ल्याइएको हो । तर, व्यवसायीले भने शुल्क महंगो भएको र दीर्घकालीन सञ्चालनको ग्यारेन्टी नभएको भन्दै बधशालामा पशुपंक्षी बधका लागि लागि लैजान इन्कार गरेका हुन् ।उपमहानगरपालिकाले एकै ठाउँमा पशु बध गर्न भन्दै व्यवसायीलाई पटक–पटक आग्रह गरे पनि उनीहरुले त्यसको बेवास्ता गर्दै आएका छन् । पशु बध गरेबापत उद्योगले लिने मूल्यको विषयमा सहमति नजुटेको र आफूहरुले सहमति गराउने प्रयास गरिरहेको हेटौंडा उपमहानगरपालिकाका वातावरण शाखाका अधिकृत ध्रुव भुजेलले बताए ।  हेटौंडाका मासु व्यवसायी संघका प्रतिनिधिहरुसँग विभिन्न चरणमा छलफल भएपनि सहमति नजुटेको बताउँदै भुजेलले व्यवसायी र उद्योगीबीच मूल्यमा सहमति गराएर बधशालालाई व्यवस्थित गरिने बताए ।

हेटौंडा मासु व्यवसायी संघका अध्यक्ष सूर्य अधिकारीले उद्योगीले पशु बध गरेबापतको मूल्य महंगो निर्धारण गरेकाले आफूहरु त्ययसको प्रयोग गर्न नसकेको बताए । ‘हामीले समय सुहाउँदो प्रस्ताव गरेको मूल्यमा उद्योगले राँगाभैंसी काट्न नसक्ने भन्यो’ उनले भने, ‘अर्को कुरा बधशाला दीर्घकालीन सञ्चालन मै हामीलाई शंका छ, यसको ग्यारेन्टी कसले लिने ?’ अधिकारीका अनुसार उद्योगले अहिले एउटा राँगा बध गरी मासु तयार गरेबापत एक हजार पाँचसयसम्म शुल्क तोकेको छ । उक्त शुल्क आफूहरुले तिर्न नसक्ने व्यवसायीहरुको भनाइ छ । माछामासु व्यवसायी संघ मकवानपुरका महासचिव नारायण राजथलाले भने आफू मातहतमा रहेका व्यवसायीहरु बधशालामा बध गर्न इच्छुक भए पनि केही व्यवसायीहरुको असहमतिको कारण रोकिएको स्पष्ट पारे ।
‘हाम्रो संघले राँगाभैंसी, खसी, कुखुरालगायत बध गर्दाको छुट्टाछुट्टै मूल्यसूची प्रस्ताव गरेका थियौं’ उनले भने, ‘त्यसलाई उद्योगले स्वीकार गरिसकेको अवस्थामा केही व्यवसायीहरुका कारण समस्या भइरहेको छ ।’ उद्योगका निर्देशक शैयद रियाजुद्दिनले मासु व्यवसायीले प्रस्ताव गरेकै मूल्यमा आफूहरुले पशु बध गर्न सहमत भहे पनि केही व्यवसायीले असहमति जनाएको बताए । माछामासु व्यवसायी संघका अनुसार हाल हेटौंडामा दैनिक ६० वटा राँगाभैंसी, करिब एक सय २० वटा खसीबोका र १० हजार भन्दा बढी कुखुरा खपत हुने गरेको छ । हेटौंडा बजारका विभिन्न २० भन्दा बढी स्थानमा राँगाभैंसी बध हुने गरेको छ । ५५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा करिब १८ करोड रुपैयाँ लगानी गरिएको उद्योगका निर्देशक रियाजुद्दिनले बताए ।
उद्योगमा प्रदेश ३ सरकारले ७१ लाख रुपैयाँ अनुदानसमेत उपलब्ध गराएको छ ।उद्योगमा प्रतिघण्टा ४० वटा राँगाभैंसी बध गर्ने क्षमता रहेको छ । हेटौंडाभित्र रहेका करिब सयजनाभन्दा बढी मासु व्यवसायीले निश्चित शुल्क तिरेर सोही ठाउँमा राँगाभैंसी बध गर्ने अनौपचारिक सहमति बनेको थियो । दैनिक २५ टनसम्म मासु फ्रिजिङ गर्न सकिने क्षमताको मेसिन उद्योगमा रहेको छ ।


सातामा धेरै पढिएको