कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
224

धनगढी-वर्षातको समयमा उत्खनन बन्द गरिएको भएपनि कैलालीका खोलाहरुबाट नदी जन्य पदार्थहरु धमाधाम चोरी भइरहेका छन् । जिल्लाका विभिन्न नदी तथा खोलाहरुबाट मापदण्ड विपरित ढुङ्गा, गिट्टी र बालुवा चोरी निकासी भइरहेको पाइएको हो ।
जिल्ला समन्वय प्रमुख सूर्यबहादुर थापाले नदीजन्य पदार्थ चोरी भइरहेको बताए । वातावरणमा प्रभाव पर्न नदिन हरेक वर्ष असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन रोक लगाइने गरेको छ । रोक लगाएको बेला नदीजन्य पदार्थको मुल्य बढि पाइने गरेकाले चोरी निकासी हुने गरेको छ ।

नदीजन्य पदार्थ चोरी भइरहेको भएपनि स्थानीय निकायहरुले त्यसलाई रोक लगाउन सकेका छैनन् । जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुलगायतका सदस्य रहेको अनुगमन समितिले चोरी निकासी रोक्न सकेको छैन । समन्वय समितिका सूचना अधिकारी वीरराम ताम्राकारले निकासी रोक लगाएको अवधिमा अनुगमन हुन नसकेको बताए ।
प्रहरीले भदौ महिनामा चालकसहित नौ वटा ट्रयाक्टर पक्राउ गरी जिल्ला समन्वय समिति कैलालीलाई बुझाएको छ । जिल्ला समन्वय समितिका अनुसार भदौ २ गते दुई वटा र भदौ २३ गते सात वटा ट्रयाक्टर प्रहरीले पक्राउ गरी समितिमा पठाएको छ । जिल्ला समन्वय समितिका सूचना अधिकारी ताम्राकारले प्रत्येक ट्राक्टरलाई ६ हजारका दरले धरौटी लिएर छोडिएको बताए । उनले समन्वय समितिको बोर्ड बैठकबाट थप जरिवाना समेत लिन सक्ने बताए ।
धनगढी उपमहानगरपालिका–१९, पथरीस्थित खुटिया नदीबाट सशस्त्र प्रहरीले चालकसहित सात वटा ट्रयाक्ट पक्राउ गरी सोमबार समन्वय समितिमा बुझाएको छ । ३४ नम्बर गणका सशस्त्र प्रहरी नायव उपरीक्षक भीम चन्दले खुटिया नदीबाट अवैध रूपमा बालुवा लोड गरी धनगढीतिर ल्याइरहेको अवस्थामा चालकसहित पक्राउ गरिएको बताए ।
वर्षातको समयमा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएपनि अटेरी गर्दै बालुवा उत्खनन गरेपछि उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि भदौं २ गते जिल्ला प्रहरी कार्यालयले बालुवा लोड गरिएका २ वटा ट्रयाक्टरसहित चालकलाई पक्राउ गरी समितिमा बुझाएको थियो ।


सातामा धेरै पढिएको