लक्ष्मण ढुंगाना
मंगलबार, भदौ २४, २०७६
231

वागेश्वरी मन्दिरको जग्गा बिक्री प्रकरण

नेपालगन्जस्थित वागेश्वरी मन्दिरको ८४ बिघा जग्गा हिनामिना सम्बन्धमा उच्चस्तरीय छानबिन सुरु भएको छ । जग्गा बिक्री वितरण गरी व्यक्तिका नाममा दर्ता भएको समाचार सञ्चारमाध्यममा आएपछि सार्वजनिक, सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले छानबिन सुरु गरेको हो । आयोगका सदस्य जगत देउजा र कानुन अधिकृत जनक पोख्रेलसहितको टोलीले छानबिनका क्रममा जग्गा बिक्री भएको स्थानमा स्थलगत अनुगमन गरी काठमाडौँ फर्किएको छ ।
आयोगले केही दिन यता छानबिन थालेसँगै मन्दिरका वर्षौं पुराना मुख्य कागजात फेला पारेको छ । छानबिनका क्रममा १९५१ सालको लालमोहरसमेत फेला पारेको छ । त्यस यताका महत्वपूर्ण दस्तावेजसमेत टोलीले फेला पारेको गुठी संस्थानका कानुन अधिकृत जनक पोख्रेलले बताए । ति दस्तावेजको विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गरेर आयोगलाई दिनुका साथै कार्यान्वयनमा लैजाने उनको भनाइ छ । “टोलीले मन्दिरको नाममा रहेको सम्पत्तिको विवरण खोजबिन गर्नुका साथै मन्दिरको जग्गा के कसरी रैतीका सन्तान तथा महन्तका नाममा दर्ता भयो भन्ने बारेमा अध्ययन गरिरहेको छ,” उनले भने ।

टोलीले मन्दिरको सम्पत्ति खोजबिन गर्ने क्रममा १ सय ४० वर्ष पुराना निर्णय फेला पारेको छ । मालपोत कार्यालयमा १९३६, १९५१, १९६६, १९७१, १९७८, २००४, २०५७ सालमा गरिएका जग्गासम्बन्धी निर्णय फेला परेका हुन् । मन्दिरका अधिकांश पुराना कागजात फेला परे पनि २०२७÷२८ सालका कागजपत्र भने अझै फेला नपरेको आयोगका सदस्य जगत देउजाले बताए । “केही पुराना र २०५७ सालमा भएको निर्णय फेला पारेको, त्यो फाइल हेर्दा २०२७ सालमा पनि निर्णय भएको रहेछ,” उनले भने, “तर फाइल भने फेला पर्न सकेको छैन, हामीले खोज्न भनेका छांै ।” त्यस्तै २०४४ सालमा वागेश्वरीको चल अचल सम्पत्तिबारे जिल्ला पञ्चायतलाई लेखिएको पत्रसमेत भेटिएको छ । आयोगले ६ वटा विषयमा काम गर्ने म्यान्डेट पाएकोे सदस्य देउजाले बताए । “६ म्यान्डेटमध्ये एउटा हिनामिनामा लाग्नेलाई कस्तो कारबाही गर्नुपर्छ भन्ने पनि छ,” उनले भने । त्यससम्बन्धी कारबाहीका सम्बन्धमा समग्रमा नभएर घटनाको प्रकृतिका आधारमा फरकफरक सुझाव दिन सकिने उनले बताए । आयोगमा हाल देशभरिबाट १ सय ५० वटा उजुरी परेको र ति प्रत्येक उजुरीको छानबिन भइरहेको सदस्य देउजाको भनाइ छ । वागेश्वरीका सन्दर्भमा उजुरी नपरे पनि विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई आधार मानेर छानबिन गर्नसक्ने कार्यविधिका आधारमा जाँचबुझ कार्य अघि बढाएको बताइएको छ । आयोगको टोलीले नेपालगन्जस्थित वागेश्वरी गुठी व्यवस्थापन समिति, सञ्चारकर्मी र नागरिक समाजका अगुवालाई भेटेर वागेश्वरी मन्दिरको सम्पत्तिका बारेमा छलफल गरेको थियो । केही दिन नेपालगन्जमा रहेर आयोगको टोलीले मन्दिरको जग्गा भएको साविक इन्द्रपुर, खजुराखुर्द, परस्पुर र वागेश्वरी मन्दिर क्षेत्रको जग्गाको स्थलगत निरीक्षण गरेको छ । त्यसक्रममा जग्गाको स्थलगत अनुगमन गरी जानकारी लिएको, भूमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट आवश्यक कागजात लिएको, नागरिक समाजसँगै विभिन्न क्षेत्रका ब्यक्तिसँग अन्तरक्रिया गरिएको जनाएको छ ।
मुलुकका विभिन्न स्थानमा सरकारी, सार्वजनिक तथा गुठी जग्गा हिनामिना भएको खबर सार्वजनिक भएपछि सरकारले पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको हो ।


सातामा धेरै पढिएको