कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
368

म्याग्दी- गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मंगला गाउँपालिका–२ तोराखेतका थमप्रसाद पौडेलले दिएका छन् । बेनी–दरवाङ सडकनजिकै पौडेलले व्यावसायिक पशुपालन तथा कृषिखेती गरेर उनले जिल्लामा सफल कृषकको परिचय बनाएका छन् ।
पौडेलले भैसीं फार्ममा ७ वटा भैंसी पाल्दै आएका छन् । बिहानै उठ्छन्, भैंसीको स्याहारसुसार र दूध दुहुने काम उनको दैनिकी हो । दैनिक रूपमा उत्पादन गरेको दूध आफूले सञ्चालन गरेको डेरीमा राख्छन् । कहिल्यै पनि दूधमा पानी नमिसाउने उनको दाबी छ । उनको डेरीमा राखेको शुद्ध दूध र दही बेनी–दरवाङ सडकमा सवारीसाधनमा आवतजावत गर्ने यात्रुले रोकेर खाने र दूध दही किनेर लैजाने गर्छन् ।

करिब १० लाख लगानीमा भैंसी र गोठ सुधार गरेका छन् । परिश्रमलाई मूल्यांकन गर्दै पशु तथा भेटेनरी कार्यालय म्याग्दीबाट गोठ सुधारका लागि ४ लाख अनुदान दिएको बताए । ७ वटा उन्नत जातका भैंसी पालनबाटैै पौडेलले वार्षिक साढे ३ लाख आम्दानी गर्दै आएका छन् । भैंसी पालनबाटै उनले दैनिक ३० लिटर दूध उत्पादन गर्छन् ।
आफ्नो उमेर समूहका अधिकांश साथी विदेश जाँदा उनी भने गाउँमै बसेर भैंसी पालनबाटै परिवारको आवश्यक खर्च पु-याउँदै सम्पूर्ण खर्च कटाएर मासिक ३० हजार बचत गर्छन् । पशुपालन ब्यवसायमा उनकी श्रीमती कलिमाया पौडेल पनि सन्तुष्ट छन् । कुनै पनि ब्यवसायमा इमान्दार र गुणस्तर वस्तु उत्पादन गर्न निरन्तर लाग्ने हो भने हरेक ब्यवसायमा सफल हुन उनले ब्यवसायमा गरेको मेहनतले देखिन्छ ।