कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
376

आर्थिक वर्ष २०७५-७६ मा विद्युत् उत्पादन गर्ने चार निजी जलविद्युत् प्रवद्र्धकलाई विद्युत् विकास विभागले सम्मान गरेको छ ।
विभागको २६ औ बार्षिक उत्सवको अवसर पारेर उनीहरूलाई सम्मान गरिएको हो । २२ मेगावाटको बागमती, ७.८ मेगावाटको सुपर माई, ८.८ मेगावाटको रुदी खोला ‘ए’ र ३.३३ मेगावाटको कपाडीगाड जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई सम्मान गरिएको हो । सुपर माईले निर्धारित समयभन्दा २१ दिन अगाडि विद्युत उत्पादन गरेको थियो । सो अवसरमा विभागबाट अवकाश पाएका उपमहानिर्देशक पुरुषोत्तम आचार्यलगायतलाई पनि सम्मान गरिएको थियो । उनीहरूलाई राष्ट्रिय योजना आयोगका सदस्य डा. केपी ओलीले सम्मान गरे ।

कार्यक्रममा आयोगका सदस्य ओलीले सरकारले अघि सारेको १५ औं पञ्चवर्षीय र १० वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न सबै निकाय सक्रिय हुनुपर्ने बताए । विद्युत् उत्पादनका लागि सरकारीसहित नीजि क्षेत्रको समेत ठूलो भूमिका हुने भन्दै उनले सबै एक साथ सक्रिय भए लक्ष्य हासिल गर्न सकिने बताए ।
विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले विद्युत् क्षेत्रलाई व्यवस्थित र सहजीकरणका लागि आयोगले सबै सरोकारवाला निकायसँग छलफल र परामर्श गरी अघि बढ्ने बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले विद्युत् विकास विभागले आफूलाई संघीयताअनुसार ढाली निजी क्षेत्रको सहजीकरणमा केन्द्रित हुनुपर्ने बताए । कार्यक्रममा जल तथा ऊर्जा आयोगका सचिव मधुसुदन अधिकारी, पूर्वऊर्जासचिव अनुप उपाध्याय, विद्युत् विकास विभागका महानिर्देशक मधु भेटुवाल, उपमहानिर्देशक सन्दीप देवलगायतले जलविद्युत् क्षेत्रको विकासका लागि अग्रसर हुनुपर्ने बताए ।