कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
434

जनकपुर- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चुरेको संरक्षण गर्न नसक्दा तराई मधेसमा बाढीको समस्या बढेको बताएका छन् । प्रदेश नम्बर २ का ८ जिल्लामा अविरल वर्षाका कारण आएको बाढी अनुगमनका क्रममा उपप्रधानमन्त्री यादवले बाढीको स्थायी समाधान चुरे संरक्षण भएको बताए । उनले चुरे संरक्षण नहुँदा प्रत्येक वर्ष बाढीमा तराई त्राहीमाम हुने गरेको भन्दै चुरे बचाउनुको विकल्प नरहेको स्पष्ट पारे ।
गृहमन्त्री रामबहादुर थापाले बाढीबाट भएको क्षतिको यकिन विवरण आएपछि सरकारले राहत तथा पुनस्र्थापनामा सघाउने बताए । सरकारले बाढी प्रभावित क्षेत्रमा छिट्टै पुनर्निर्माण कार्य सुरु गर्नेसमेत उनले बताए । उनले चुरे पहाड क्षेत्र विनासका कारण तराई मरुभूमीमा परिणत हुने अवस्थामा पुगेको बताए । तराई मधेसका समस्यालाई नीतिगतरूपमा दीर्घकालिन सुधारका लागि सरकारले विपद् प्राधिकरण गठनको प्रक्रिया थालेको उनको भनाइ थियो ।

राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झाले राहतमा सरकारले राजनीति गरेको आरोप लगाए । उनले सरकारलाई पटकपटक तराई मधेसका वास्तविक बाढी पीडितलाई ख वर्ग र अवास्तविकलाई क वर्गको राहत वितरण गरेको आरोप लगाए ।
प्रदेश सरकारको बाढी बिफ्रिङपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बाढीले कमला, बकैया, बागमतीसहितका नदीमा भएको क्षतिलाई यकिन गरेर तत्काल मर्मतमा रकम अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले बाढी आउनुपूर्व नै सचेत गराउँदा गराउँदै ठूलो क्षतिमा सरकार सदैव जनताको साथ रहेको बताए ।