कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६
383

गोरखा-भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले बन्द भएको मासु पसललाई अनुदान दिएको पाइएको छ ।
गोरखा नगरपालिका–१० छेबेटारको सिलवाल फ्रेस हाउसलाई फ्रेस हाउस सुधारतर्फको अनुदान दिएको पाइएको हो । ऋषिराम सिलवालको सो फ्रेस हाउसका लागि गण्डकी प्रदेशबाट अनुदानका लागि एक लाख २५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ७० हजार एक सय ८७ रुपैयाँ स्वीकृत भएको थियो । जसमा एक हजार ५३ रुपैयाँ करकट्टी गरेर ६९ हजार एक सय ३४ रुपैयाँ भुक्तानी भइसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । सो रकमले ब्यवसायी सिलवालले पसलमा टायल बिछ्याउनुका साथै आँगनमा ट्रस हालेका छन् ।

तर अनुदान पाएको पसल गत माघदेखि नखुलेको स्थानीयले बताएका छन् । “पहिले त यो पसल राम्रै चलेको हो,” एक स्थानीयले भने, “गएको माघदेखि त कहिल्यै खुलेको छैन । उनीहरुको ब्यबहार के कसो भएर नखुलेको हो । बन्द भएको पसलले नै अनुदान पाएको सुन्दा अचम्म लाग्यो ।” स्थानीयले माघदेखि पसल बन्द रहेको बताए पनि केन्द्रले गत चैत २१ गते सिलवाल फ्रेस हाउस अनुदानका लागि छनोट गरेको सूचना सार्वजनिक गरेको थियो ।
पसल बन्द भएको ऋषिरामकी श्रीमती शान्ताले स्वीकार गरिन् । “पसल नखोलेको ३÷४ महिना भयो,” उनले भनिन्, “नानी बिरामी भएर उहाँ यताउता गैरहनुहुन्छ । मैले एक्लै खसीबोका ल्याएर काटेर बेच्न सक्दिन त्यसैले पसल खोलेको छैन ।” लामो समयदेखि नखोलेका कारण पसल कोठा गन्हाउनुका साथै माकुराको जालोले घेरिएको छ । सिलवाल फ्रेस हाउसले ब्यावहारिक कठिनाइका कारण मासु बेच्न नसकेको केन्द्रका प्रमुख वज्रकिशोर ठाकुरले जानकारी दिए । “उहाँहरू काम गर्ने मान्छे नै हो,” उनले भने, “हामीले कामका आधारमा अनुदान दिने हो । उहाँको पसलमा अनुदानको रकमले टायल र ट्रस हालिएको छ । पसल सधै बन्द गर्ने भए त त्यही काम पनि गर्नुहुँदैनथ्यो होला नि । अहिले केही ब्यवधानले पसल खोल्न नसकेको होला । हामी निरन्तर अनुुगमन गर्नेछौं ।” कार्यालयले फ्रेस हाउस सुधारअन्तर्गत २२, मोडल फार्मअन्तर्गत २१, पूर्वाधार निर्माण र पशु आहारा सेवा कार्यक्रमतर्फ २, उत्पादनमा आधारित अनुदानतर्फ ३, पकेट क्षेत्रतर्फ ४, यान्त्रीकरण अनुदानतर्फ २२ किसानलाई अनुदान दिएको छ । उनीहरूको कामको प्रगतिका आधारमा अनुदान रकम भुक्तानी गरेको केन्द्र प्रमुख ठाकुरले जानकारी दिए ।