कारोबार संवाददाता
बुधवार, श्रावण १, २०७६
361

भुक्तानीका लागि सदरमुकाममै बास


ताप्लेजुङ
-फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाअध्यक्ष छेतेन वालुङ तीन दिनदेखि सदरमुकाममै व्यस्त छन् । गाउँपालिकामा सम्पन्न योजनाको रकम भुक्तानीका लागि कर्मचारी र उपभोक्ता समितिको सहजीकरणका लागि उनी सदरमुकाम बसेका हुन् । गाउँपालिका प्रवक्तासमेत रहेका वालुङका अनुसार पालिकामा बैंकले रकम भुक्तानी दिन नसकेकाले सदरमुकाम आउनुपरेको हो ।

वडाअध्यक्ष वालुङले भने, “पालिकाको बैंकले भुक्तानी दिन सकेन, सदरमुकाम आउनु बाध्यता बन्यो ।” गाउँपालिकामै जनता बैंकको शाखा छ, तर कारोबार छैन । जिल्लाको मैवाखोलामा सनराइज बैंक छ, जबकी गाउँपालिकाले कारोबार नै गर्दैन् । मेरिङदेन गाउँपालिकामा एनसीसी बैंक छ तर कारोबार छैन । असारे झरिमा उपभोक्ता भुक्तानीका लागि यातायात र होटल खर्च बेहोरेर सदरमुकाममा जम्मा भएका छन् । तुलनात्मक रूपमा नेपाल बैंकमा असार अन्तिम साता यता सेवाग्राहीको चाप घटेको छैन ।
गाउँपालिकामध्ये मेरिङदेन, मिक्वाखोला र मैवाखोला तथा फुङलिङ नगरपालिकाले नेपाल बैंकबाट र फक्ताङलुङ गाउँपालिकाले जनता बैंकबाट कारोबार गरेका छन् । होटल तथा स्टेसनरी एवम् आफूलाई पायक पर्ने स्थलमा बसेर गाउँपालिकाले निकासाका लागि कागजागत मिलानको काम गर्ने गरेका छन् ।
मेरिङदेन गाउँपालिका–४ का खगेनसिंह हाङगामले निकासाका लागि सदरमुकाम धाउनुपर्दा पीडा भएको बताए । “होटलमा खान बस्न र फर्कदा गाडी भाडा र समय खर्चिनुपर्छ, असारको दिनमा कागजात नमिल्दा झन्झट हुन्छ,” हाङगामले भने । बैंकमा भिड हुँदा पालो पर्खनुपर्ने र चेकमा सही तथा छाप लगाउन बिर्सने जस्ता स–साना समस्यामा अल्झिँदा समस्या परेको बताउने समेत भेटिए । मेरिङदेन–५ स्थित थुकिमा वडा कार्यालयसम्म सडक जोड्ने ठेक्काको १ लाख भुक्तानीका लागि आएका विरु चोङवाङ कर्मचारीसँग कड्किए । चोङवाङले भने, “पालिकामा न कर्मचारी छन् न जनप्रतिनिधि । फेरि सदरमुकाम आयो, यो मिलेन र त्यो मिलेन भनेर दुःख पाउने धेरै भए ।” मेरिङदेन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत असारमा १० दिने छुट्टी लिएकोप्रति गाउँपालिकाबासी रुष्ट छन् । नेपाल बैंकका प्रबन्धक तेज नेपालले असार मसान्तमा सेवाग्राहीको चापले सेवाप्रवाहमा कठिनाइ भएको बताए । यद्यपी अवेरसम्म सेवा प्रवाह गर्ने गरिएको उनले जानकारी दिए ।

देवराज गुरुङ