कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
271

म्याग्दी- नयाँ संघीय संरचनाअनुसार स्थापना भएका म्याग्दीका स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको छ । म्याग्दीका स्थानीय तहका केन्द्रहरूमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गरेपछि दुर्गमका बस्तीमा सहज भएको छ । स्थानीय तह मार्फत सञ्चालन हुने विकास आयोजनाका उपभोक्ता समिति, व्यापारी, शिक्षक कर्मचारी र सर्वसाधारणलाई बैंकिङ सुविधाका लागि सदरमुकामसम्म धाउनुपर्ने समस्या हटेको छ । नयाँ संरचनाअनुसार आर्थिक गतिविधि, ब्यापार विस्तार र बजारीकरण हुन थालेपछि बैंक तथा वित्तीय संस्थाले ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेका थिए ।
यसै क्रममा अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा गरिमा विकास बैंक र प्रभु बैंकको शाखा कार्यालय रहेको छ । गरिमाले म्याग्दीको सदरमुकाम बेनीसँगै मालीका गाउँपालिकाको केन्द्र दरवाङ र मंगलाको केन्द्र बाबियाचौर बजारबाट सेवा प्रवाह गर्दै आएको छ । म्याग्दीका ६ मध्य ४ वटा स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । प्रभु बैंकले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाट र धौलागिरि गाउँपालिकाको ताकम मालिका दरवाङमा शाखा विस्तारले बेनी बजार आउने दुर्गम बस्तीका जनतालाई विदेश पठाएको रेमिट्यान्स तथा अन्य कर्जा प्रवाह लिन सहज भएको छ ।
स्थानीय तहमा बैंकको शाखा स्थापना भएपछि उपभोक्ता समिति, शिक्षक, कर्मचारीलाई तलब बुझ्नका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको र सेवा प्रवाहमा समेत सहजता भएको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगरले बताइन् ।