कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
282

मनाङको ङिस्याङ गाउँपालिका–४, हुम्डेस्थित मस्र्याङ्दी नदिमाथि निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । तीन वर्षअघिबाट निर्माण सुरु भएको पुल करिब ७० प्रतिशत काम सकिएपछि भत्किएको हो ।
काठमाडौँस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले चार करोड ५१ हजारको लागतमा निर्माण सुरु गरेको सो पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको हो । मोटरेबल पुल भत्किएपछि ङिस्याङ–४, हुम्डेबाट ङिस्याङ–३, ङावलसम्म मोटर पु¥याउने लक्ष्यमा विश्राम लागेको छ । पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले २०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो । संघीयता कार्यन्वयनसँगै २०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो । स्थानीयका अनुसार करिब एक महिना अघिदेखि नै पुल लच्किँदै गएको थियो । दुईतर्फ पिल्लर बनिकसेपछि पुल जडानका लागि नदीमा राखिएको सपोर्टवालमा पानीको बहावले झड्का दिएपछि फलामको सपोर्ट पिल्लरसँगै बुधबार पुरै पुल भत्किएको हो ।

पुल भत्किएको विषयमा स्थानीयको जानकारी अनुसार निर्माण पक्षलाई बारम्बार जानकारी गराइएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले बताए । “हामीले यसअघि नै पुल लच्किएको जानकारी निर्माण पक्षलाई गराएका थियोँ,” पराजुलीले भने, “वर्षात् र सडक अवरोधका कारण समयमै काम हुन नसक्दा पुल पुरै भत्किन पुग्यो ।”
हाल पुल भाँचिएर नदिसम्मै पुगेको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म निर्माण सक्ने लक्ष्य लिएको पुल अहिले भत्किएपछि थप अन्योल भएको छ । नदीमा पानीको बहाव र पुलको बीचभाग नदीसम्मै पुगेपछि कामलाई निरन्तरता दिन पनि अफ्ठेरो भएको छ ।

सन्देश पौडेल