कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
260

विराटनगर-सामान्य वर्षामै विराटनगर जलमग्न भएको छ । बुधबार बिहान परेको वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । विराटनगरमा ढल र नालासहितको सडक निर्माण भइरहेको छ । सडक विस्तारका क्रममा बजार क्षेत्रका अधिकांश सडक भत्काइएको छ । जसका कारण पानीले निकास नपाउँदा बजारसहित भित्री वस्ती डुबानमा परेको हो ।
एसियाली विकास बैंक एडीवीको आर्थिक सहयोगमा सडक विस्तार भइरहेको छ । तर, महानगरपालिकाले अनुगमन नगर्दा ठेकेदार पक्षले ढल, नाला र सडकको निर्माण अत्यन्तै सुस्त गतिमा भइरहेको छ । बाटोको चारैतर्फ जमेको पानी स्थानीय व्यापारीहरूको सटर र पसलमा समेत प्रवेश गरेको छ । सटर र पसलहरूमा पानी छिरेका कारण बेच्नका लागि राखिएका सामग्री नष्ट भएर आर्थिक क्षति बेहोर्नु परेको स्थानीय व्यापारी विजय महतोले गुनासो गरे । यसअघिदेखि नै पानी निकासको व्यवस्थापन गर्न महानगरपालिका र वडा समितिको कार्यालयलाई हारगुहारे पनि कुनै सुनवाई नभएपछि उनीहरूको भनाइ छ । “सामान्य वर्षामै यस्तो गति भएको छ,” उनले भने, “अब अझै ठूलो वर्षा हुँदा कस्तो होला विराटनगर ? समयमा महानगरपालिकाले ध्यान दिएको छैन । तत्काल निकासको व्यवस्था गर्नुपर्छ ।”

बाटोमा पानी जमेर स्थानीय व्यापारीहरूको पसलमा समेत पानी पसेपछि भने स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू सक्रिय देखिन्थे । विराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्लेले र विराटनगर–९ का वडाध्यक्ष विश्वनाथ भगतसमेत सो ठाउँ पुगेका थिए । विराटनगरको राजर्मागमा निर्माण भइरहेको सिक्स लेन परियोजनाको लापरबाहीका कारण एकाध ठाउँमा समस्या देखिएको उनीहरूको दाबी छ । “जोगबनी–धरान सिक्स लेन सडकका कारण समस्या भएको छ,” अध्यक्ष भगतले भने, “केही दिनमै सबै समस्या समाधान हुन्छ ।”
महानगरपालिकाका सम्बद्ध जनप्रतिनिधि र कर्मचारीहरूले केही क्षेत्रमा मात्र जलमग्न भएको अवस्था रहेको दाबी गरिरहँदा विराटनगरको दक्षिणी क्षेत्र रानीका अधिकांश टोलहरूमा डुबान भएको छ । पारिजात, पशुपति, त्रिवेणी टोलसहित भट्टीमोडलगायतका क्षेत्र वर्षातको पानीले डुबान भएको छ । स्थानीयको घरआँगनका साथै त्यहाँ सडकहरूसमेत जलमग्न भएको छ ।
रानीस्थित बैंक रोडमा रहेको मनकामना सेकेण्डरी बोर्डिङ स्कुल परिसरमा जमेका पानीलाई निकास दिन स्थानीयले त्यहाँको नाला भत्काएका छन् । राजमार्गको किनारमा समानान्तर नाला निर्माण नगरेसम्म रानी क्षेत्रमा डुबानको समस्या समाधान नहुने विराटनगर–१५ का वडाध्यक्ष असलम आलमको भनाइ छ ।