रानीमहल
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १०, २०७४

पाल्पाः करिब २० वर्षअघि सुरु भएको पाल्पाको ऐतिहासिक रानीमहल पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भग्नावशेष परिणत भएपछि पुरातत्व विभागको पहलमा मर्मत सम्भार सम्पन्न भएको हो । प्रेमको प्रतीकको रूपमा मानिने रानीमहल पर्यटकीय आकर्षणको केन्द्र मानिन्छ । 

रानीमहल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य हो । रंगरोगन तथा मर्मत सम्भारपछि दरबारको मुहार फेरिएको छ । रानीमहल सदरमुकाम तानसेनबाट १७ किमिको दूरीमा अवस्थित छ । 

करिब ६ रोपनी जग्गा ओगटेको नेपालको ताजमहल भनेर चिनिने रानीघाट दरबारलाई बेजोड कलाकृतिको नमुना मानिन्छ । विभिन्न कलात्मक शैलीमा दरबारको निर्माण गरिएकाले पर्यटकका लागि एउटा आकर्षणको केन्द्र बनेको छ । प्रेमको प्रतीकका रूपमा रहेको ताजमहलमा विशेषतः युवायुवती पुग्ने गर्दछन् ।

रानीघाट दरबार जाने टे«किङ रुटमा भने तानसेनदेखि स्याङजाको सटुका, वैधाविर्घा लर्सधा, कोटाकोट, आलमस्थान, कारिकोटलगायतका स्थानीय आउने जाने बाटोका रूपमा प्रयोग गरिन्छ । डिभिजन सडक कार्यालयले सडक निर्माण गरेपछि यहाँ दैनिक रूपमा सवारी साधन आउने जाने गर्दछन् । आफ्नै सवारीसाधन हुनेका लागि भने एक घण्टाको समयमा पुग्न सकिन्छ । 

दरबार परिसरमा फोहरा तथा अत्यन्त पुरातात्विक, बहुमूल्य वस्तुको चोरी भएपछि  स्थानीय समाजसेवा असल शासन क्लबले ०६३ सालदेखि निरन्तर रूपमा दरबारको संरक्षण एवं संवद्र्धन कार्य गर्दै आइरहेको छ । त्यसपछि दरबारमै प्रहरी विट र जिविसको सहयोगमा एकजना चौकीदारसमेत राखिएको छ । जिल्ला समन्वय समिति अध्यक्ष दयाराज बस्याल रानीमहलको अझै विकास र प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । 

 रानीमहलको ऐतिहासिकता 
इतिहासविद् निर्मल श्रेष्ठका अनुसार वि.सं. १९०३ देखि सत्तानजिक पुगेका जङ्गबहादुर र उनका सन्तानहरू मध्येका धीर शमशेरका छोराहरूले रणोद्दीप सिंहको हत्या गराएपछि वीर शमशेरले प्रधानमन्त्री सम्हाले ।

पाँच भाइ वीर शमशेरहरू मध्येका खड्ग शमशेर कमान्डर इन चिफ भएको १६ महिनापछि पदच्युत गरी ठाडा, गुल्मी निर्वासित गरिएका थिए । वि.सं. १९४५ तिर उनले निर्वासित जीवनबाट पाल्पा बस्ने अनुमति प्राप्त गरे । त्यहाँ बस्दाबस्दै पाल्पा गौंडाका तैनाथवाला र पश्चिमतर्फ सैनिक कमाण्डर बनेका खड्गशमशेरलाई पाल्पासमेत भैरहवा, तौलिहवा, बागलुङ र पर्वतसम्मको अख्तियारी दिइएको थियो ।

सोही समयमा पाल्पामै रहेका बेला १९४९ मा उनकी रानी तेजकुमारीको निधन भयो । खड्ग शमशेरले आप्mनी रानी तेजकुमारीका निधनबाट अत्यन्त विह्वल भएका बेला उनको स्मृतिमा पाटी, पौवा, धारा र मन्दिरसहितको दरबार निर्माण गर्ने वचनअनुसार रानीको अन्तिम चाहना स्वरूप पाल्पाको साविक बौघागुम्हा गाविसस्थित कालिगण्डकीको किनारमा रानीघाट दरबार तयार गराएका थिए ।


भारतको आग्राको ताजमहल जस्तै यसको निर्माणको कारण पनि ‘प्रेम र वचनबद्धता नै हो’ भनिन्छ । रानीको निधन भएको केही वर्षछि उनका मनमा श्री ३ को पद र उपत्यका कब्जा गर्ने चाहना जाग्यो र उनले विविध तयारी गरे । सत्ताका नजरमा यो एक खालको षडयन्त्र थियो र यो थाहा पाएका चन्द्र शमशेरले उनीबाट पाल्पाको तैनाथी खोसे । त्यसपछिका दिनमा संरक्षणको अभावमा रानीघाट दरबार विस्तारै जीर्ण बन्दै गएको थियो दरबार अहिले भने पुनः सिँगारिएको छ । 

 दरबारको तत्कालीन सेना र यस क्षेत्रका बासिन्दासमेतको जनशक्ति प्रयोग गरी र राजशक्तिको व्यापक प्रयोग गरेर बनाइएको थियो भने दरबारका लागि ‘खड्ग शमशेर’ अक्षराकिंत इटा बनाएर प्रयोग गरिएको थियो । कालीको तीरमा रहेको भिरालो चट्टानमा बनेको यो दरबारको पश्चिमी जगभन्दा तल गंगाजीको लहर अत्यन्त आकर्षक देखिन्छ । उत्तर बाहिनी नदी रहेको यस क्षेत्रमा धार्मिक दृष्टिले समेत महत्वपूर्ण रहेको संस्कृतिविद् निर्मल श्रेष्ठको भनाइ  छ । 

कालिगण्डकी र त्यसको किनारबाट जग उठाएर बनेको त्यो दरबारलाई पुलतिरबाट हेर्दा नदीमाथि दरबार अडिएजस्तो अत्यन्त रमाइलो दृश्य देखिन्छ । दरबारको मूल आकर्षण पनि त्यही हो । त्यही दृश्य देखिने गरी बनाइएको यो दरबारको सबैभन्दा तल्लो भागमा अगाडि ठूलो फूलबारीसहितको करिब १७ रोपनी जग्गा भए पनि वराङ्दी खोलाले काटेर बगर पारिदिएको छ । बगैचासँग जोडिएर दरबारको अग्र भागमा सबैभन्दा तल पाले पहरा बस्ने ठाउँ, नदीतिर जाने सिँढी र तिनको बीचबाट दरबारको मुख्य भागतिर जाने अर्को सिँढी छ ।

सिँढीबाट उक्लेपछि पहिलो भागमा दुईवटा फोहराका निम्ति तयार गरिएका सुन्दर आकृतिका पोखरी, शीतलपाटी, अत्यन्त सुन्दर तरिकाले बनेका छन् भने तिनकै सुरमा ठूलो अत्यन्त कलात्मक र सुविधा सम्पन्न देखिने दरबार बनेको छ । दरबारको पछिल्तिरबाट माथि जाने भरेङ, चोटा कोठा तथा भान्छा आदि छन् । 

कालिगण्डकीको धार्मिक महत्व पनि उल्लेख्य देखिन्छ । दरबार बन्नु अघि यस ठाउँलाई घाटका रुपमा प्रयोग गरिए पनि बनारसमा भागीरथी गंगाको उत्तर बहाव र त्यसको महत्वबारे चर्चा सुनेकाले यो क्षेत्रलाई बनारसकै महत्वको दर्शाउन दरबार निर्माण गराई, मन्दिर, पाटी, बगैंचा आदिको व्यवस्था गर्ने सोच बनाइएको हुनसक्ने इतिहासविद्हरूको भनाइ छ ।