कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
235

स्याङ्जा-सरकारले जग्गा बाँझो नराख्ने नीति लिएर अगाडि बढिरहेका बेला स्याङ्जाको गल्याङका कृषकले बाँझो जग्गामा सामूहिक टिमुरखेती सुरु गरेका छन् ।
गल्याङ नगरपालिका–१० लाखुडाँडाका कृषकले पखेरा बारीका झाडी फाँडेर बाँझो जग्गामा सामूहिक टिमुरखेती सुरु गरेका हुन् । साढे १ हेक्टर बाँझो जग्गालाई सदुपयोग गर्दै टिमुरखेती सुरु गरिएको हो । स्थानीय लिला सारुले बाँझो जग्गाको सदुपयोग पनि हुने र आर्थिक उपार्जनसमेत गर्न सकिने भएकाले सामूहिक टिमुरखेतीमा लागेको बताइन् । स्थानीय ५० घरधुरीले देवीभञ्याङ टिमुर व्यावसायिक कृषि समूह गठन गरी सामूहिक टिमुरखेतीमा लागेका हुन् ।

पछिल्लो समय वन्यजन्तुले अन्न बाली तथा फलफूल खाइदिने गरेकाले पनि टिमुरखेती आफूहरूका लागि लाभदायी हुने सारुको विश्वास छ । सारु भन्छिन्, “हामी टिमुरखेतीमा जागरुक छौं,” यसको सम्भावना देखिएकाले खेती सुरु गरेका हौं ।” “अघिल्लो वर्ष वडामा ७ सय टिमुरका विरुवा परीक्षणका रूपमा लगाइएको थियो ।” अर्का कृषक लक्ष्मण शाहीले भने, “टिमुरका लागि चाहिने उपयुक्त हावापानी भएका यो वर्ष हामीले २५ सय टिमुरका विरुवा रोप्न सुरु गरेका छौं ।” लाखुडाँडामा टिमुरखेतीका लागि स्थानीय रूपमै नर्सरी बनाई बिरुवा उत्पादनसमेत गरेको उनले बताए ।
नगरका अन्य वडाभन्दा भौगोलिक विकटता रहेको गल्याङ्–१० मा स्थानीयलाई कृषिबाटै समृद्ध बनाउने योजना रहेको वडाध्यक्ष ध्रुवप्रसाद शर्मा पंगेनीले सुनाए । कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको लाखुडाँडामा स्थानीयले सामूहिक टिमुरखेतीमा सक्रिय देखाएको अध्यक्ष पंगेनीले बताए ।
मानव जीवनमा टिमुर परम्परादेखि नै सर्वसाधारणले मसलाको रूपमा प्रयोग गर्दै आएको बहुउपयोगी र औषधीय गुण भएको एउटा महत्वपूर्ण फल हो । विशेषगरी अचार, सिस्नोको तरकारी, च्याउको परिकार बनाउँदा यसको मसला अनिवार्यजस्तै मानिन्छ । टिमुर दन्त मञ्जन, साबुन, अत्तरलगायतको सामग्री उत्पादनमा प्रयोग गरिँदै आइएको छ ।