कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६
241

बर्दियाको गुलरिया नगरपालिकाको नगरसभामा जनप्रतिनिधिले पाउने पारिश्रमिक नगरको विकासमा लगाउन प्रस्ताव दर्ता भएको छ । जनप्रतिनिधिले कर्मचारी सरह तलब सुविधा लिँदा जनताप्रति जनविश्वास हराउँदै गएको भन्दै गुलरिया नगरपालिका–७ का निर्वाचित वडासदस्य विनयराज भण्डारीले पारिश्रमिक रकम नगरको विकासमा लगाउन प्रस्ताव दर्ता गरेका हुन् ।
बुधबार गुलरियामा पत्रकार सम्मेलन आयोजना गरी भण्डारीले जनताका प्रतिनिधिको रूपमा चुनिएका देशभरिका जनप्रतिनिधिले राज्यको तलब खाने भएकाले जनताको नजरमा जनप्रतिनिधिप्रतिको विश्वास हराउँदै गएको उनले बताए । “राज्यको ठूलो धनराशी जनप्रतिनिधिको तलबमा खर्च हुँदा राजनीतिक सेवा नभई पेसामा रूपान्तरण भएको छ,” उनले भने, “त्यसैले यो प्रस्ताव पारित गरियोस् भनी गुलरिया नगरपालिकाको नगरसभामा पेस गरेको छु ।” राज्यको ठूलो धनराशी जनप्रतिनिधिको तलब भक्तामा खर्च हुँदा स्थानीय विकास निर्माण प्रभावित भएको भन्दै उक्त पारिश्रमिकबाट यहाँको विकास, समृद्धि र जनसेवामा लगाउन सबै जनप्रतिनिधिलाई तलब नलिन प्रस्ताव दर्ता गरिएको बताए ।
पत्रकार सम्मलेनमा भण्डारीले राज्यबाट पाउँदै आएको तलब सुविधा आफूले नलिने घोषणा गर्दै सो रकमबाट उक्त वडाका जेहेन्दर तथा गरिब विद्यार्थीको शिक्षा र स्वास्थ्यमा खर्र्च गरिने बताए । केही दिनभित्र सम्पन्न हुने नगरसभामा आफूले दर्ता गरेको प्रस्ताव पारित गर्न सकेमा मुलुकभरिका जनप्रतिनिधिलाई सकारात्मक सन्देश दिन सकिने उनको दाबी छ । “अहिले राजनीतिक सेवा नभई पेसामा रूपान्तरण भएको छ,” उनले भने, “यसले सम्पूर्ण जनप्रतिनिधिलाई पारिश्रमिक नलिएर राजनीतिलाई सेवाको रूपमा लिन प्रेरणा मिल्न सक्छ ।”