मेगराज खड्का
बुधवार, असार २५, २०७६
174

रुकुम पश्चिम चौरजहारी नगरपालिका–४, की कृष्णा राणा हिजोआज बुटिक तालिममा व्यस्त छिन् । बुटिक तालिम भएका कारण निकै झन्झटिलो पनि छ जसका कारण दिनभर सियोधागोसँगै आँखा डुलाउनुपर्छ । शुरुमा काम थाल्दा जसरी उनलाई झन्झटिलो महसुस हुन्छ तर साँझ कपडामा सुन्दर बुट्टा भरेपछि त्यसको दोब्बर बढी आनन्द पनि आउँछ ।
“यसअघि आफैंले लगाउने कपडामा बुट्टा भरिएका देख्दा यो कसरी भएको होला भन्ने अचम्म लाग्थ्यो,” उनले भनिन्, ‘तालिम लिएपछि यो काम त हामी नै गर्न सक्ने रैछउ, धेरै ठूलो कुरा नै नहेनछ भन्ने अहिले महसुस र हौसल भइरहेको छ ।” तालिमको आधा समय सकिएको छ, जसले गर्दा उनीमात्र होइन १७ जना दिदीबहिनीहरू कपडामा बुट्टा भर्ने काममा निकै हौसिएका छन । सीप सिकेपछि व्यावसायिक रूपमा यस क्षेत्रमा लाग्ने उनीहरूको भनाई छ । विशेषगरी सोल, पछ्यौरा, ब्लाउज र सौन्दर्यलगायतका बिभिन्न सामाग्रीहरूमा बुट्टा भर्ने गरिन्छ । उनीहरूको सारथी बनेकी छिन दाङकी प्रशिक्षक गीता बसेल । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत उनीहरूलाई ४५ दिने बुटिक तालिम दिइएको हो ।

कर्णाली प्रदेश सरकारको कार्यक्रमअन्तर्गत घरेलु तथा साना उद्योग विकास समिति रुकुम पश्चिमको आर्थिक सहयोगमा उत्पीडित सामुदायिक विकास केन्द्र रुकुम पश्चिममार्फत उक्त कार्यक्रम सञ्चालन छ । रुकुम पश्चिमका चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिबेणी गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन छ ।
उक्त कार्यक्रममार्फत बिपन्नवर्गका समुदायहरूलाई समेटेर सिलाइ–कटाइ, बुटिक, मुढा निर्माण, कुखुरापालन र तरकारी बिउ उत्पादनको तालिमहरू संचालन गर्दै आएको छ । जिल्लाका तिन स्थानीय तहमा यस आर्थिक बर्षमा मात्र १ सय ७५ जनालाई यस प्रकारको तालिम प्रदान गरिएको छ भने १ सय १७ जनालाई स्तरवृद्धि तालिम तथा प्रविधि सहयोग गरेको उत्पीडित सामुदायिक विकास केन्द्र रुकुमका अध्यक्ष खड्कबहादुर बस्त्रकारले जानकारी दिए । उनका अनुसार तालिमपश्चात् उनीहरूलाई लघुउद्यमीको रूपमा विकास गरि व्यवसायिकतामा जोड्न प्रोत्साहन गरिनेछ ।