कारोबार संवाददाता
बुधवार, असार २५, २०७६
202

भोजपुर-संरक्षण अभावमा भोजपुरको त्रिभुवनपार्क अलपत्र परेको छ । भोजपुरको स्थानीय टुँडिखेलमा २०५० सालमा स्थापना भएको त्रिभुवन पार्क संरक्षणको पर्खाइमा अलपत्र बनेको हो ।
जिल्ला समन्वय समिति भोजपुरको मातहतमा रहेको त्रिभुवनपार्क संरक्षणमा जिससको समेत ध्यान पुगेको छैन । २०५० सालमा भोजपुरमा स्थापना भएको त्रिभुवनपार्कमा राजा त्रिभुवन, रामप्रसाद राई र नारदमणि थुलुङको मूर्ति स्थापना गरिएको छ । शान्ति प्रक्रियामा आइसकेपछि तत्कालीन माओवादीको भ्रातृ संगठन वाईसीएलले पार्कमा रहेको राजा त्रिभुवनको मूर्ति तोडफेड गरेपछि त्रिभुवनको मूर्तिको ठाउँमा भोजपुरको चिनारी करुवा राखिएको थियो । पार्कमा हेरचाह नहँुदा पार्कमा राखिएको करुवा तोडफोड गरी करुवाको टुटी गायब छ । करुवाको टुटी हराउँदा नत कसैको ध्यान नै गयो न खोजी नै गरे । सम्बन्धित सबै निकायले पार्कमा टुटी फुटाई लगेको करुवा देखेर पनि नदेखे झैं गरेका छन् । पार्कमा राखिएको करुवाको टुटीमात्र हैन पार्क वरिपरि राखिएको बत्तीको कुनै नामनिशन छैन । बत्ती सबै फुटाइएको छ ।

जिल्ला समन्वय समिति भोजपुरका सभापति लक्ष्मण खड्काले भने पार्क संरक्षणमा जिसस लागे पनि जिसससँग संरक्षणका लागि कोष नभएकाले संरक्षण गर्न नसकिएको बताए । खड्काले अन्य स्थानीय तहसँग छलफल गरी पार्क संरक्षण गर्न एकजना कर्मचारी नै राखी संरक्षण गर्ने बताए ।
भोजपुर खुकुरीका लागि प्रसिद्ध जिल्ला भएकाले पार्कमा भोजपुरको पहिचान झल्काउने खुकुरी राखिएको छ । स्थानीय लसमाजसेवी नन्दमणी राईले पार्कमा राखिएको करुवा शौचालय जान प्रयोग गरिने करुवाजस्तो राखेको बताउँदै खुकुरीको पनि नक्सासमेत नदेखिने भएको बताए । उक्त पार्क निर्माणमा २० देखि २५ लाख रुपैयाँ खर्च भएकोे छ ।
विभिन्न संघ संस्थाले यो पार्कमा आ–आफ्नो संस्थाको स्थापना दिवसका अवसरमा बिरुवा रोप्ने गरेका छन् । संस्थाले बिरुवा रोपे पनि ती बिरुवा हुर्काउनसमेत कसैको ध्यान पुग्ने गरेको छैन । सबै संघसंस्थाको दिवसका दिन पार्कमा फूलका बिरुवा रोप्ने भोजपुरका लागि फेसनजस्तै बनेको छ ।

अर्जुन बस्नेत