दीननाथ बराल
बुधवार, असार २५, २०७६
218

विजयपुरको अस्थायी डाइभर्सन खोलाले बगाउँदा पोखरा विमानस्थल निर्माणकार्य प्रभावित


पोखरा-देश संघीयतामा गए पनि असारे कार्यक्रमले निरन्तरता पाउँदा जनताले सास्ती भोग्नु परेको छ । देशका अधिकांश ठाउँमा यतिबेला सडक मर्मत र नाला निर्माणकार्यले तीव्रता पाएको छ ।

केही ठाउँमा वर्षात्को समयमा निर्माण हुँदै गरेका पुल तथा केही संरचना भत्काएको तथा बगाएको अवस्थामा आइतबार राति पोखराको विजयपुर खोलामा अस्थायी डाइभर्सनको रूपमा रहेको डाइभर्सन नै पानीको बहाबले बगाउँदा पोखरामा हाल निर्माण हुँदै गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम प्रभावित हुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायी रूपमा करिब ३ महिना सञ्चालनमा ल्याइएको डाइभर्सन गएराति बाढीले बगाएपछि हाल १० टनभन्दा बढी भारवहन क्षमताका ट्रकसहितका गाडीहरू हाल सडकमै अलपत्र अवस्थामा छन् ।
डिभिजन सडक कार्यालय पोखराका प्रमुख हरी पोख्रेलले अस्थायी रूपमा निर्माण गरेको विजयपुरको डाइभर्सन खोलाले बगाएकाले पुनः डाइभर्सन बनाउन कम्तीमा ३-४ दिन लाग्ने बताएका छन् । उनले भने, “हामीले सम्भवतः मंगलबार बिहानैदेखि डाइभर्सनको काम सुरु गर्छौं, मौसमले साथ दिएमा करिब ४ दिनभित्रमा हामीले पहिलाकै अवस्थमा अस्थायी पुल (डाइभर्सन) बनाउन सक्छौं ।” पहिला ७ रो मा ३५ वटा ह्युमपाइप प्रयोग गरिएको बताएका उनले यसपालि केही रो बढाएर ह्युमपाइप समेत बढाउनु पर्ने बताए ।
समयमै बेलीब्रिज निर्माण नहुँदा धेरैलाई दुःख भएको स्थानीयले गुनासो गरेका छन् । उक्त डाइभर्सन तत्काल खुलाउन नसकेको अवस्थामा निमार्णाधीन पोखरा विमानस्थलको काममा समेत असर पर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा विमानस्थलको निर्माण कार्यले तीव्रता पाएको बेला हाल विभिन्न संचरनाको फाउन्डेसन निर्माण तथा स्टिल संरचना निर्माणको क्रममा हाल चाइनाबाट पोखरा आउँदै गरेका करिब ४० वटा गाडीको सामान बाटोमै रोकिन पुगे आफूहरूको काममा प्रभाव पर्ने चाइनिज सिएएमसी कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागार्इंले बताए । उनले भने, “पहिलाका डाइभर्सन निर्माण गर्दा पनि हामीले विभिन्न इक्युपमेन्टसहितको जनशक्ति परिचालन गरेका थियौं, यसपालि हामीले सोमबारबाटै डाइभर्सन निर्माणमा लागेका छौं, १ लोडर र दुईवटा ट्रिपर पठाएका छौं, थप सहयोग आवश्यक परेमा हामी तयार छौं ।”
करिब एक दशकअघि निर्माण गरिएको पक्की मोटरेबल पुलको स्टिल बिम करिब ३ महिनाअघि चर्केको थाहा पाएपछि जोखिमलाई मध्यनजर गरी १० टन भारवहन क्षमताका गाडी सञ्चालनमा रोक लगाइएको हो । पोखरा विमानस्थल निर्माणको जिम्मा पाएको चाइनाको सिएएमसी कम्पनी, सडक डिभिजन कार्यालय पोखराले अस्थायी डाइभर्सन बनाएका थिए ।
पृथ्वी राजमार्गमा पर्ने विजयपुर पुलको विकल्पमा बेलिब्रिज समयमै निर्माण हुन नसक्दा जनतालाई सास्ती भोग्नुपरेको स्थानीयले गुनासो गरेका छन् । समयमै स्थायी पुल बन्न नसक्दा पटकपटक डाइभर्सनमा पानीको बहाब बढ्नासाथ रोकिनु पर्ने भएकाले आफूहरू धेरै पटक रोकिनु परेको चालक रामनिवास सिंहले बताए ।
बेलिब्रिज निर्माणकार्य अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका उद्धव राईले बताए । जाली बुन्दै बीचमा आरसीसी ढलान गर्नुपर्ने भएकाले निर्माणमा केही ढिलो हुन पुगेको उनले जनाए । गत वैशाख २४ गते एक महिनामा उक्त पुल निमार्ण सक्ने गरी सम्झौता भए पनि प्राविधिक रूपमा एक महिनामा नसकिने दाबी गर्दैै उनले अबको दुई साताभित्र पुल निर्माण गर्ने दाबी गरे ।