कारोबार संवाददाता
आइतवार, असार १, २०७६
652

प्रदेश–३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले सामूहिक खेतीको अवधारणा अघि बढाएको बताएका छन् । राजधानीमा बजार प्रणाली विकासमा प्रदेश र नगरपालिकाको भूमिकाबारेको सम्मेलनमा मन्त्री लामाले प्रदेश सरकारले सिन्धुली र माडीमा सामूहिक खेती सुरु गरिसकेको तथा नुवाकोट र सिन्धुपाल्चोकमा गर्ने तयारी गरेको बताए ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश–३ तथा नेपाल सरकार र स्वीरजरल्याण्ड सरकारको सहयोगको नेपाल कृषि बजार विकास कार्यक्रम (साहज) सहयोगमा सञ्चालित बजार विकास फोरम नेपालले आयोजना गरेको सम्मेलनमा उनले प्रदेशको कृषिको सम्भावनालाई दृष्टिगत गरी संघीय सरकार, नीजि क्षेत्र र दातृ निकायले सामूहिक रूपमा कार्य गर्नुपर्ने बताए । उनका अनुसार, प्रदेश सरकारले सिन्धुलीको १२१ विघा र माडीको १ सय विघामा सामूहिक खेती सुरु गरिसकेको छ ।
सम्मेलनमा स्वीस डेलभपमेन्ट कर्पोरेसनकी वरिष्ठ कार्यक्रम अधिकृत यमुना घलेले बजार प्रणाली विकासका लागि उपयुक्त मोडेल आवश्यक पर्ने भन्दै त्यसका लागि सबै स्पष्ट हुनुपर्ने बताइन् । विभिन्न तहका सरकार भएकाले सबैबीच प्राथमिकता र यसबारेको दृष्टिकोण स्पष्ट हुनुपर्ने उनको भनाइथियो । उनले निजी क्षेत्रलाई यसका लागि उपयुक्त वातावरा बनाउनुपर्ने भन्दै साझा धारणासहित संस्थागत क्षमता अभिवृद्धि गरेमा प्रभावकारिता बढ्ने स्पष्ट पारिन् ।