दीननाथ बराल
आइतवार, असार १, २०७६
551

पोखरा-रासायनिक तथा विषादीको प्रयोगले मानव जीवनमा प्रत्यक्ष असर पर्ने भन्दै पोखराका एक अगुवा कृषक अग्र्यानिक फलफूल तथा तरकारी उत्पादन गर्ने अभियानमा लागेका छन् । विगत तीन वर्षदेखि यो अभियानमा लागेका पोखरा–२२, पुम्दी–भुम्दी पोखरा भ्यूप्वाइन्टका अगुवा कृषक देवीलाल बरालले आगामी एक वर्षभित्र भने आफ्नो बारीमा पूर्णरूपमा अग्र्यानिक फलफूल तरकारी उत्पादन गर्ने अभियानमा रहेका हुन् ।
प्राङ्गारिक मलको प्रयोग बढी, वातावरणमैत्री र रासानिक मलको कम प्रयोग तथा विषादीरहित फलफूल तरकारी उत्पादनमा लागेका बरालले आगामी एक वर्षभित्र आफ्नो वारीमा पूर्ण अग्र्यानिक फलफूल तरकारी उत्पादन हुने गरी सम्पूर्ण प्रक्रिया पूरा गरेको उनले दाबी गरे । दुई दशकदेखि उनले अन्य पेशाका क्रममा फलफूल तथा तरकारी खेती गर्दै आए पनि जग्गा जमिनमा जथभावी रूपमा रासानिक तथा विषादीको प्रयोगले गर्दा माटो बिग्रिने र उत्पादित वस्तु स्वास्थ्यका लागि समेत मन्द बिषको रूपमा प्रयोग हुने भएकाले हाल आफू अग्र्यानिक खेतीतर्फ लागेको बरालले जनाए । “एक वर्षमा हाम्रो बारीमा उत्पादन हुने प्रायः सवै फलफूल र तरकारी अग्र्यानिक हुनेछन्,” उनले भने । हाल प्रयोग भएको खेतवारीमा कम्तिमा ४ वर्षमा रासानिक मललाई विस्थापित गरी विषादीलाई न्यूनीकरण गर्दै जाने अभियानमा आफू रहेको बरालले जनाए । हरेक वर्ष प्राङ्गारिक मलको प्रयोग बढी र रासानिक मलको प्रयोग घट्दो क्रममा प्रयोग गरी बिषादीलाई न्यूनीकण गर्दै गएको अगुवा कृषक बरालले बताए ।

एकीकृत शत्रूजीव व्यवस्थापन (आइपीएम) समाज सो पद्धतीसमेत अपनाउन थालेका उनले आफ्नो गाउँठाउँका मात्र नभइ अन्य ठाउँबाट समेत आगन्तुकलाई अग्र्यानिक फलफूल, तरकारी उत्पादन र आइपीएलका बारेमा परामर्श दिँदै आएका छन् । करिब साँढे दुई दशकभन्दा बढी समय शिक्षा क्षेत्रमा समर्पित भएका उनले हाल शैक्षिक अवकास लिएर पनि आफ्नो बाँकी जीवनमा समाजमा केही गरौं भन्ने उद्देश्यले अग्र्यानिक फलफूल र तरकारी उत्पादन गर्न लागेका हुन् । कृषि क्षेत्रमा केही राम्रो काम गरेकाले उनले यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुदानबाट प्लास्टिक घर निर्माणका लागि करिब एक लाख रूपैयाँ अनुदान पाएका छन् । मुख्य रूपमा बाँदरको समस्याले आफूहरू पीडित हुने गरेको उनले गुनासो गरे ।
उनले हाल निर्माण गर्न लागेको प्लास्टिक घर १२ मिटर लम्बाइ र ६ मिटर चौडाइको हुने छ । विभिन्न जातका मौसमअनुसारका फलफूल तरकारी उत्पादन हुने उनले बताए । प्लास्टिक घरमा उत्पादित फलफूल, तरकारी अन्य ठाउँमा उत्पादन भएको भन्दा बढी हुने र बाँदरदेखि असिनापानी तथा हावाहुरीबाट बचाउन सकिने उनले बताए । कृषिवालीमा उनकी श्रीमती रमादेवीलेसमेत साथ दिँदै आएकी छन् । उनको बारीमा हाल काँक्रो, घिरौंला, भिन्डि, खुर्सानी, बोडी, फर्सिलगायतका तरकारी उत्पादनन हुँदै आएको छ ।