कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
331

विश्व सम्पदा दिवस, बिहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
विश्व सम्पदाको संरक्षण तथा संवद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन भन्दै हरेक वर्ष वैशाख ५ गते यो दिवस मनाइने गरिन्छ । यसैक्रममा काठमाडौं महानगरपालिकाको संयोजनमा विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारदेखि स्वयम्भू क्षेत्रसम्मको रुटमा अवस्थित सम्पदाको संरक्षण र यसको प्रवद्र्धनका लागि साताव्यापी सम्पदा मार्ग पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको मूल लक्ष्य स्थानीय सांस्कृतिक, सामाजिक, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रमको प्रवद्र्धन गर्नु रहेको महानगरपालिकाले जनाएको छ ।

कार्यक्रमको अवसरमा महानगरपालिकाले हनुमानढोका दरबारदेखि स्वयम्भू क्षेत्रसम्म व्यवस्थापन गर्ने गरी गुरुयोजना पनि सार्वजनिक गरेको छ । गुरुयोजना सार्वजनिक गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले काठमाडौं महानगरपालिकाभित्र कुनै अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्ने भए स्थानीयको १५ प्रतिशत र बाँकी महानगरपालिकाले दिने गरी रकम उपलब्ध गराउने पनि बताए ।
कार्यक्रममा विश्व सम्पदा सूचीमा परेका काठमाडौंको वसन्तपुर र स्वयम्भूसम्मको पदमार्गको फोटो पत्रकारलाई अवलोकन गराइएको थियो ।