किरण कर्ण
बिहिवार, बैशाख ५, २०७६
1463

जनकपुरका मिठाइ पसलको अनुगमन

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरका चर्चित मिठाइ पसलको अवस्था निकै कमजोर रहेको पाइएको छ । बाहिरबाट हेर्दा निकै आकर्षक देखिने मिठाइ पसलको मिठाइ उत्पादन गर्ने ठाउँको अवस्था भने फोहोरले भरिएको पाइएको हो ।
उपभोक्तालाई लोभ्याउन र मनग्य आम्दानी गर्न केही मिठाइ पसलले आफ्नो उत्पादनमा अत्यधिक फिट्करी, हाइड्रो, सेफालाइट जस्ता प्राणघातक केमिकलको प्रयोग गरेको खुलासा भएको छ । यस्तै मिठाइ बिक्री वितरण गरेर पसलेहरूले उपभोक्ताको स्वास्थ्यमाथि नै खेलवाड गरेको पाइएको छ ।

जनकपुर आउने अधिकांश भक्तजनले जानकी मन्दिरमा गएर पूजा अर्चना गर्नुका साथै माता जानकीलाई प्रसादसमेत चढाउँछन् । त्यो मिठाइ प्रसादका रूपमा श्रद्धालुहरू आफैंले ग्रहण गर्छन् । यति मात्र होइनन्, जनकपुरका मिठाइ पसलहरूमा मिठाइ खानेहरूको घुइँचो लाग्ने गरेको छ । तर ती उपभोक्ताले आफूले खाएको मिठाइको गुणस्तर अहिलेसम्म थाहा नै नपाएको पाइएको छ ।

यस्तो छ मिठाइ पसलहरूको अवस्था
जनकपुरको जानकी चोकस्थित चर्चित हंसराज मिठाइ पसलको कारखाना दशरथ तलाउको छेउमा छ । एक्कासी राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीको अगुवाइमा अनुगमन गर्नेक्रममा हंसराज डेरी उद्योग नामक कारखानाभित्र जथाभावी छरिएर खुल्लारूपमा राखिएका मिठाइ पाइएको थियो । मिठाई बनाउने स्थल र मजदूरहरूको हातगोडामा समेत फोहोर लागेको थियो । सामानहरू छरपस्ट र खुलारूपमा राखिएको पाइएको थियो । झिंगा भन्किरहेको अवस्थामा राखिएका सामानहरूको म्यादसमेत गुज्रिएको अवस्थामा अनुगमन टोलीले फेला पारेको थियो । मिठाइमा अखाद्य पदार्थ प्रयोग गरेकोसमेत अनुगमनका क्रममा फेला परेको थियो ।
त्यस्तै रघुपती मिष्ठान्न भण्डार तथा ओम बेकरीको कारखानाको अवस्था पनि उस्तै थियो । म्याद नाघेका सामग्री प्रयोग गरेर मिठाइ उत्पादन गरेको फेला परेको थियो ।
मंगलबारदेखि जारी उपभोक्ताको मानवअधिकार अवस्थासम्बन्धी गोष्ठीको दोस्रो दिन बुधबार आयोगले गरेको अनुगमनका क्रममा अखाद्य वस्तु तथा अवैध ढंगले अन्य देशबाट अनुत्पादक वस्तु ल्याएर प्रयोग गरेको पाइएको हो ।
आयोगकी सदस्य अन्सारीले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताइन् । उनले अनुगमनका क्रममा देखिएको अवस्थाबारे जनकपुर उपमहानगरपालिका तथा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदै कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिने जानकारी दिइन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका खाद्य निरीक्षक प्रविण तिवारीले मिठाइ पसलहरूको अनुगमन गर्दा फेला परेका अखाद्य पदार्थ नियन्त्रणमा लिइएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी दीपकराज कँडेलले अखाद्य पदार्थ प्रयोग गरेर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेहरूलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।