नेगम परियार
आइतवार, माघ ६, २०७५
686

मनाङ-हिमालपारिको जिल्ला भन्ने बित्तिकै मनाङलाई चिनिन्छ । हिमाली जिल्ला मनाङमा सुरक्षित र ब्यवस्थित कारागार निर्माण भइरहेको छ ।
जिल्ला सदरमुकाम चामेस्थित माडामा कैदी बन्दीको सुरक्षा ब्यवस्थापनलाई ध्यान दिँदै सुरक्षित र ब्यवस्थित कारागार बनाइएको हो । मानव अधिकार आयोगबाट अनुदान प्राप्त रकम ९ करोड ७५ लाख ६९ हजार ३ सय ६९ रुपैयाँ लागतमा बन्दै गरेको कारागार ९ रोपनी ३ आना क्षेत्रफलमा बन्दै गरेको मनाङ जिल्लाका कारागारका जेलर शैलेन्द्रकुमार चौधरीले बताए ।

उक्त कारागार २ वर्षको अवधिमा सक्ने गरी लुम्बिनी द क्याराभान कन्ट्रक्सन प्रालिले निर्माणकार्य गरिरहेको छ । २०७४ साल साउन मसान्तबाट २०७६ कात्तिक मसान्तसम्म कारागारको काम पूरा गर्ने गरी लिएको ठेक्का लिएकोमा हालसम्म ३० प्रतिशतमात्र काम पूरा भएको जिल्ला कारागारका जेलर शैलेन्द्रकुमार चौधरीले बताए ।
कारागारमा कैदीबन्दीका लागि महिला र पुरुषका लागि १०÷१० कोठा हुने चौधरीले बताए । बाँकी प्रशासन फाँट, अफिस सञ्चालन, भेटघाट कक्ष, खेलकुद मैदान र कैदीबन्दीले पढनका लागि लाइब्रेरी बनाइने कारागारका जेलर चौधरीले बताए ।
मनाङ कारागारमा हालसम्म महिला कैदीबन्दी नभएकाले निर्माणाधीन कारागारमा महिला कक्षसमेत बनाइने छ । हालको कारागार ब्यवस्थित र सुरक्षित नभएकोले अब चाँडै नै सुरक्षित र ब्यवस्थित कारागार बनेपछि कैदीबन्दी तथा सुरक्षाकर्मी लगायत भेटघाट गर्न जाने अभिभावकलाई पनि सहज पुग्ने भएको छ ।
“मौसम र सडकको समस्याले गर्दा काममा ढिलाई भएको हो, मौसम र सडकमा समस्या नभए तोकिएको समयभित्र नै काम पूरा गर्न लागी परेका छौं,” कम्पनीका सुपरभाइजर नारायण लामाले भने । समयभित्रै निर्माणकार्य सक्नका लागि कम्पनीलाई समेत झक्झकाई रहेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।